कर्णाली प्रदेशले विश्व महामारी कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने भएको छ। प्रदेश बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त जानकारी दिएका हुन्।
संक्रमण देखिने व्यक्तिको उचित उपचारको व्यवस्था मिलाइने पनि उनले बताएका छन्। संक्रमित व्यक्तिलाई सम्बन्धित स्थानीय तह र जिल्ला सदरमुकामका आइसोलेसनमा बस्ने व्यवस्था मिलाइने र संक्रमण तथा लक्षण समेत देखिएका बिरामीको जिल्ला अस्पतालमा उपचार गरिने पनि उनको भनाइ छ।
त्यस्तै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आईसीयू) र २० भेन्टिलेटरसहितका विशेष सघन उपचार कक्ष बनाइने मन्त्री ज्वालाले बताए। कर्णाली प्रदेशमा कोरोना सचेतनाका लागि स्वास्थ्य स्वयंसेविका समेत परिचालन गरिने भएको छ। यसका लागि ४ करोड छुट्याइएको छ। त्यस्तै महामारीले प्रदेशभित्र प्रभाव पारेका कृषि, वन, उद्योग, निर्माण र रोजगारीलगायतको गतिविधिमा शिथिलता आएकाले सम्भावित खाद्यसंकट नियन्त्रणका लागि ५० करोड विनियोजन गरिएको छ।
प्रदेशले कोरोना केन्द्रित स्वास्थ्य, खाद्यान्न र शिक्षाका कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गरिने भएको छ। कोरोना नियन्त्रण र दीर्घकालीन स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि २ अर्ब ७७ करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया