कारोबार


५ मुलुकबाट एकै महिनामा ५६ करोडको मास्क आयात

 ५ मुलुकबाट एकै महिनामा ५६ करोडको मास्क आयात

सन्तोष न्यौपाने
जेठ २४, २०७७ शनिबार १३:११,

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुनसक्ने भन्दै त्रास फैलिएपछि त्यसको पहिलो असर मास्कमा पर्‍याे।

उपभोक्ताले बजारबाट मास्क किनेर स्टक राख्न थाले भने केही व्यापारीले लुकाएर महँगोमा बेच्न थाले। केही समय त मास्कको हाँ-हाँकार नै भयो।

नेपालमा मास्क उत्पादन गर्ने कम्पनी खासै थिएनन्। भएकाले पनि सर्जिकलभन्दा पनि कपडाको मास्क उत्पादन गर्दै आएका थिए।

त्यही बेला चीनको वुहानमा कोरोनाको महामारी फैलियो। त्यहाँ मास्कको माग उच्च भयो। नेपाल सरकारले समेत चीनलाई केही मास्क पठायो।

नेपालमा कोरोना भइरस संक्रमण बढ्दै जाँदा मास्क आयात उच्च भएको देखिन्छ। भन्सार विभागको तथ्यांकअनुसार बैशाख महिनामा मात्र नेपालमा ५६ करोड रुपैयाभन्दा बढीको मास्क आयात भएको छ।

वैशाख महिनामा मात्रै विभिन्न ५ मुलुकबाट ‘फेस मास्क’ शीर्षकमा ५६ करोड १७ लाख १३ हजार रुपैयाँ बराबरको ४० लाख ८० हजार १ सय ५८ किलो मास्क आयात भएको छ।

नेपालमा आयात भएका मास्कमध्ये अधिकांश चीनबाट आएका छन्। त्यसपछि भारत, थाइल्यान्ड, टर्की र युएईबाट मास्क आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

त्यसभन्दा अघिल्लो कुनै पनि महिनामा नेपालमा ‘फेस मास्क’ शीर्षकमा मास्क आयात भएको विभागको तथ्यांकमा देखिँदैन।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाँइका अनुसार त्यसभन्दा पहिला कपडामा मिसिएर मास्क आउने गथ्र्यो।

‘पहिला फेस मास्क भनेर छुट्टै शीर्षकमा आयात हुँदैनथ्यो,’ नेपालखबरसँग कुरा गर्दै बजगाइँले भने, ‘वैशाख महिनादेखि भने फेस मास्क शीर्षकमै आयात भएको छ।’

त्यसअघि ‘अदर ब्रिदिङ एप्लाइन्स एन्ड ग्यास मास्क’ शीर्षकमा अन्य प्रकारका आए पनि सर्वसाधरणले प्रयोग गर्ने मास्कको आयात भने भएको छैन।

चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख महिनामा फेस मास्क शीर्षकमा चीनबाट ५० करोड २२ लाख २७ हजार रुपैयाँ बराबरको आयात भएको छ। चीनबाट आयात भएको मास्कको परीणाम ३९ लाख ९५ हजार २ सय १० केजी छ।

त्यस्तै दक्षिणी छिमेकी भारतबाट भने चीनभन्दा धेरै कम मात्र मास्क आयात भएको छ। भारतबाट ८४ हजार ३ सय ९५ केजी मास्क आयात भएको छ। जसको मूल्य ५ करोड ५० लाख ८४ हजार रुपैयाँ छ।

चीन र भारतबाट नेपालले मास्क आयात गर्दा राज्यले ६ करोड ३ लाखभन्दा धेरै राजश्व प्राप्त गरेको छ। चीनबाट आयात हुँदा ५ करोड ६ लाख ४७ हजार र भारतबाट आयात भएका मास्कबाट ९७ लाख ९ हजार राजश्ज संकलन भएको छ।

त्यस्तै नेपालले मास्क आयात गर्ने अन्य मुलुकमा थाइल्यान्ड पनि रहेको छ। जहाँबाट २ लाख ६७ हजार रुपैयाँको ३ सय ६४ केजी आयात भएको छ।

त्यस्तै, युएइबाट २ लाख ५७ हजारको १०७ केजी र टर्कीबाट १ लाख ९९ हजारको ८२ केजी मास्क आयात भएको तथ्यांकमा उल्लेख छ।

कोरोना भाइरस संक्रमणले नेपालमा मास्क अभाव हुन थालेपछि स्वदेशमै उत्पादन पनि सुरु भएको थियो।

सुरुमा बजारमा देखिने गरी नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष दीपक मल्होत्राको नेतृत्वमा मास्क उत्पादन सुरु गरेको थियो। मल्होत्राले भारतबाट ५० लाखको मेसिन ल्याएर मास्क उत्पादन गर्न थालेपछि बजारम केही सहज भएको थियो।

दैनिक ७० हजार मास्क उत्पादन गर्न थालेपछि बजारको अभाव हटेको मल्होत्राको भनाइ छ। ‘मैले ठूलो मात्रामा उपयुक्त मूल्यमा मास्क उत्पादन सुरु भएपछि कालोबजारी हटेको थियो,’ मल्होत्राले नेपालखबरसँग भने, ‘बजारमा मास्क अभाव हुन दिँदैनौं भनेर हामी लागेका थियौं।’

त्यसपछि झन्डै आधा दर्जन कम्पनीले मास्क उत्पादन सुरु गरेका छन्। केहीले भने विदेशसमेत निर्यात गरेको व्यवसायीको भनाइ छ।

पछिल्लो समय स्वदेशमै प्रयाप्त र गुणस्तरीय मास्क उत्पादन पनि विदेशबाट पनि ठूलो मात्रामा आयात भएको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad