समाज


रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्त्येष्टिपछि कोरोना पुष्टि

रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्त्येष्टिपछि कोरोना पुष्टि

नेपालखबर
जेठ २४, २०७७ शनिबार १२:५६,

कैलालीमा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट आउनुपूर्व नै आफन्तलाई शव बुझाइएको र उनको अन्त्येष्टि भइसकेपछि संक्रमण पुष्टि भएको खुलेको छ। 

सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा शुक्रबार धनगढी उपमहानगरपालिका वडानम्बर ४ कि ५५ वर्षीय महिलाको निधन भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधनपश्चात गरिएको कोरोना परीक्षणको रिपोर्ट शनिबार दिउँसो आउँदा ती महिलामा कोरोना संक्रमण पाइएको हो। 

तर शव भने शुक्रबार नै आफन्तलाई बुझाएको र शनिबार बिहान स्थानीय मोहना घाटमा अन्तिम संस्कार भैसकेको धनगढी उपमहानगरपालिका वडानम्बर ४ का अध्यक्ष दीपक थापा क्षेत्रीले बताए

'अस्पतालले नतिजा नआउञ्जेल शव रोक्नुपर्ने हो। हिजो(शुक्रबार) मान्छे बितें। हिजै दिउँसो १२ बजेतिर शव आफन्तलाई बुझाइएको रहेछ,' थापाले नेपालखबरसँग भने, 'हिजो दिनभर आफन्तले शव घरमै राखेछन। आज बिहान ९-१० बजेतिर अन्तेष्टि गरेछन।'

आफन्तसँगको कुरा गर्दा मलामीमा ४०-५० जना सहभागी भएको जानकारी पाएको थापाले बताए। नतिजा नआउँदै आफन्तलाई शब बुझाएपछि स्थानीय र उनको अन्तेष्टिमा सहभागी भएकाहरु यतिबेला तनावमा छन।

स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएका मानिसहरुको शव व्यवस्थापनका लागि विशेष मापदण्ड बनाएको छ। मापदण्ड बमोजिम शवलाई सुरिक्षत तवरबाट अन्तेष्टि गरिन्छ भने आफन्तलाई सुरक्षा उपाय अपनाउँदै दूरी कायम गरि राखिन्छ। 

सुदूरपश्चिमा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि चौधरी थरकी ती महिलाको अन्तेष्टि भइसकेको जानकारी दिए।

‘उनको अन्तेष्टि भइसकेको छ। स्वास्थ्य कार्यालय अहिले अन्तेष्टिमा सहभागी सबैलाई खोज्दै कन्ट्याक्ट ट्रेसिङको काममा जुटेको छ’ कार्कीले भने। 

यो पनि: कोरोनाका कारण नेपालमा थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad