माछापोखरी र गोंगबु बसपार्कबीच भएर बग्ने विष्णुमती नदीमा ५६० मिटरको ओभरपाससहित त्यसको दायाँ र बायाँ २ लेनको ६४/६४ मिटरको पुल बन्ने पक्का भएको छ।
चिनियाँ पक्षबाट तयार भएको चक्रपथको दोस्रो खण्डअन्तर्गत ८.२ किमि लामो कलंकी–वसुन्धरा सडक विस्तारको डिजाइनमा नेपाल सरकारले सहमति जनाएको हो।
योसँगै लामो समयदेखि अड्किरहेको चक्रपथ दोस्रो खण्ड विस्तार प्रक्रिया अघि अब बढ्ने भएको छ। डिजाइनको समीक्षा गर्न असारको पहिलो साता सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालको नेतृत्वमा नेपाली टोली चीन पुगेको थियो।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चीन सरकारको स्वामित्वका परामर्शदाता चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी), फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स र सियान फाङझोउ इन्जिनियरिङ कन्सल्टिङका प्रमुख र उपमहानिर्देशक अर्यालले यही असार ३ गते डिजाइन स्वीकृत गर्दै हस्ताक्षर गरेका हुन्।
डिजाइन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको अर्यालसँगै चीन गएका विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर मुकुन्दराज अधिकारीले जानकारी दिए।

‘हामीले डिजाइनमा सहमति गरेर आएका छौँ। अब चीन सरकार आफैँले कम्पनी छनोट गरेर काम गर्न नेपाल पठाउँछ। चीनले कम्तीमा १५ दिनदेखि अधिकतम ६० दिनमा निर्माण कम्पनी छनोट गर्नेछ। अधिकतम समय लागेमा पनि भदौभित्र निर्माण कम्पनी छनोट हुनेछ’, उनले नेपालखबरसँग भने, ‘त्यसपछि छनोट भएको निर्माण व्यवसायीबारे सडक विभागलाई जानकारी आउँछ।’
भदौसम्म निर्माण व्यवसायी छनोट भएको कम्पनी मोबिलाइजेसन भई वर्षायाम सकिएपछि विस्तारको काम अघि बढ्ने अधिकारीले बताए।
कलंकी–वसुन्धरा सडक खण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो। यो सडक खण्ड विस्तार गर्न सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भएको थियो।
चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी पनि चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको थियो। तर उक्त खण्डमा साइड क्लियरविनै काम सुरु गर्दा निर्माणकार्यमा ढिलाइ भएको थियो। जसले गर्दा साइट क्लियरेन्सविना डिजाइन सुरु नगर्ने चिनियाँ पक्षले अडान लिएको थियो।

उक्त सम्झौतामा नेपाली पक्षले साइट क्लियरेन्स गर्ने र चिनियाँ पक्षले डिजाइन गरी अनुदानमा सडक निर्माण गर्ने समझदारी भएको थियो। साइट क्लियर गर्नका लागि सरकारले २०७६ कात्तिकमा नै रुख कटान गरे पनि कोभिड–१९, कर छुटलगायतका विषय सम्बोधन हुन नसक्दा डिजाइन स्वीकृत गरेर निर्माण कार्य अघि बढाउन ढिलाइ भइरहेको थियो।
तर डिजाइनमा नेपालले सहमति जनाएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
२०८२ फागुनमा मन्त्रिपरिषद्ले कलंकी–वसुन्धरा सडक खण्ड विस्तारका लागि आवश्यक करछुट प्रदान गर्ने निर्णय गरेको थियो। सोसँगै विस्तार प्रक्रिया अघि बढाउन कानुनी अड्चन खुलेको थियो।
यस्तै, गत वैशाखमा चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सहायतासम्बन्धी औपचारिक सम्झौता भएको थियो। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। तत्कालीन समयमा मन्त्री लम्सालले कलंकी–वसुन्धरा खण्ड विस्तारको काम छिटो सुरु गर्न राजदूतसँग आग्रह गरेका थिए।
साथै सन् २०२४ मा दुई देशबीच आर्थिक सहायताका लागि समझदारीपत्र आदानप्रदान भएको थियो। यो सडक खण्ड विस्तारका लागि ५६७.१३ मिलियन आरएमबी अर्थात् करिब साढे १२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

कस्तो हुन्छ सडक?
कलंकी–वसुन्धरा सडकको कुल लम्बाइ ८.२ किलोमिटर छ। डिजाइनअनुसार २.७५ मिटरको फुटपाथ हुनेछ र ३.५ मिटरको ८ लेन सडक हुनेछ। सडकको बीचमा ३ मिटरको मेडियन हुनेछ। सडकको डिजाइन स्पिड ५० किमि प्रतिघण्टा हुने गरी गरिएको छ।
पैदल यात्रुका लागि ४ वटा आकाशे पुल निर्माण हुनेछन्। आकाशे पुल सीतापाइला, ढुंगेधारा, गंगाहल र ग्रिनसिटी हस्पिटलमा निर्माण हुनेछ। साथै १३ वटा कल्भर्ट पनि विस्तारका क्रममा निर्माण गरिनेछ।
यस्तै, माछापोखरी र गोंगबु बसपार्कबीच भएर बग्ने विष्णुमती नदीमा ५६० मिटरको ओभरपास र त्यसको दायाँ र बायाँ २ लेनको ६४ मिटरको पुल बन्नेछ। हाल भएको पुल भने भत्काएर नयाँ बनाइनेछ। यात्रु चढ्न तथा ओराल्नका लागि ११ स्थानमा बस स्टप निर्माण गरिनेछ।
Shares

प्रतिक्रिया