कारोबार


आफ्ना सुझाव सम्बोधन नभए पनि सिबिफिनले गर्‍यो मौद्रिक नीतिको स्वागत

आफ्ना सुझाव सम्बोधन नभए पनि सिबिफिनले गर्‍यो मौद्रिक नीतिको स्वागत

नेपालखबर
असार २५, २०८३ बिहिबार १७:५१, काठमाडौँ

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व,  नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोणसहित मौद्रिक कार्यदिशा अवलम्बन गरेको बैंक तथा वित्तीय संस्था परिसंघले जनाएको छ। 

विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरु यसपटकको मौद्रिक नीतिले समेटेकोमा सिबिफिनले स्वागत गरेको हो।

‘रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरुत्थानका विषय, व्यावसायिक वातावरणलाई अझ पूर्वानुमानयोग्य बनाउन सहयोग गर्न र नीतिगत स्थिरता कायम राख्न नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयका साथै बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने, वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने, विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने जस्ता नीतिगत व्यवस्थाहरुलाई सिबिफिनले दूरदर्शी तथा सकारात्मक कदमका रूपमा लिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

सिबिफिनले मौद्रिक नीति निर्माणको क्रममा जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजी कोष पर्याप्ततासम्बन्धी केही नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमनका सुधारका विषयमा पेस गरेका महत्वपूर्ण  सुझावहरू हाल सम्बोधन हुन नसकेको जनाएको छ। 

तर पनि नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमाथि बढ्दो पुँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल सरकारको अर्थतन्त्रको विस्तारको लक्ष्य हासिल गर्न महत्वपूर्ण टेवा पुग्ने सिबिफिनका सुझावहरूको बारेमा नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययनसहित आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा यथाशिघ्र सम्बोधन गर्ने सिबिफिनले विश्वास एवं अपेक्षा लिएको छ ।

सिबिफिनले जारी मौद्रिक नीतिका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई अझ सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य तथा आवश्यक सुझाव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad