ad ad

कारोबार


भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत

रमेश लम्साल
बैशाख ३०, २०७७ मंगलबार ९:९,

संघीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ। नेकपा (माओवादी केन्द्र) का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ।

आयोजनाको कूल लागत रु १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ। वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीय रुपमा स्रोतको व्यवस्थापन गरिएको हो। प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले यही वैशाख २८ गते आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ।

स्रोत सुनिश्चित भएपछि प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने तयारी थालेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको पत्रमा चार आर्थिक वर्षमा खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ। सो परियोजनाका लागि आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०र८१ सम्म खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्श सेवासमेत छनोट गर्ने तयारीमा रहेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय गुरुयोजना स्वीकृत गर्नुपूर्व स्रोत सुनिश्चितताकाका लागि भौतिक पधूर्वाधार विकास मन्त्रालयकै बजेट सिलिङभित्र रहने गरी मात्र प्रदान गरिएको जनाएको छ। सो मन्त्रालयको अन्य कार्यक्रममा पर्ने प्रभावको प्रक्षेपण गर्ने, स्वीकृत भएका बहुवर्षीय योजनाका लागि आगामी वर्षमा मन्त्रालयको सिलिङभित्रै रहने गरी प्राथमिताका साथ बजेट विनियोजन गर्ने र सिलिङभन्दा थप बजेट स्वीकृत नहुने व्यवस्था गरिएको छ। सम्पूर्ण स्वीकृत बहुवर्षीय गुरुयोजनालाई मन्त्रालयको मध्यकालीन खर्च संरचनामा सवमोश गरिने भएको छ। प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा समावेश गरेको छ। सो आयोजनाका लागि वाग्मती प्रदेश सरकारले चालू आवमा समेत बजेटको व्यवस्था गरेको थियो।

यसअघि सो आयोजना नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको लगानी रहेको पूर्वाधार कम्पनीले निर्माण गर्ने गरी स्वीकृति लिएको थियो। स्रोतको व्यवस्थापन गर्न नसकेका कारण आयोजनाले गति लिन सकेको थिएन। वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको निर्णयअनुसार नै स्रोतको व्यवस्थापन भएको जानकारी दिए। उनले भने, ‘अन्तर्राष्ट्रिय बोलपत्रको तयारी भइसकेको छ, केही समयभित्रै बोलपत्र आह्वान हुन्छ।’

भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो। सुरुङमार्ग दुईलेनको हुनेछ। सुरुङको चौडाइ १५ मिटर हुनेछ। दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ। सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ।

सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमीले छोटिने छ। प्रदेश राजधानी हेटौँडाबाट संघीयय राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा सीमित हुनेछ। उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किमी सुरुङ बनाउन लागिएको प्रदेश सरकारले जानकारी दिएको छ।

बहुवर्षीय योजनालाई आव २०७७र/७८ मा रु दुई अर्ब, २०७८/७९ मा रु छ अर्ब, २०७९र८० मा रु छ अर्ब र २०८०/८१ मा रु चार अर्ब रहने गरी विनियोजन गरिने भएको छ। मन्त्री जम्मकट्टेलले कानूनी तथा प्राविधिक तयारी पूरा गरी प्रदेश सरकार आफैँले निर्माण गर्ने गरी प्रक्रिया शुरु भएको जानकारी दिए। सुरुङसँगै सिस्नेरीतर्फको सडकको स्तरोन्नति गरिनेछ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको पनि झण्डै दुई वर्ष हुन लागेको छ। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सो सुरुङ प्रदेश सरकारको प्राथकितामा रहेको बताउँदै निर्माणमा चासो व्यक्त गर्दै आएका छन्। सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .