कारोबार


जाइकाको अध्यक्ष तानाका अकिहिको नेपाल आउँदै, राजदूत र मन्त्रीले गरे छलफल

जाइकाको अध्यक्ष तानाका अकिहिको नेपाल आउँदै, राजदूत र मन्त्रीले गरे छलफल

नेपालखबर
असार ३२, २०८३ बिहिबार १४:३२, काठमाडौँ

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको नेपाल भ्रमणमा आउने भएका छन्।

उनको आगामी भ्रमणको विषयमा नेपालका लागि जापानका राजदूत माएदा तोरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर छलफल गरेका छन्।

अध्यक्ष तानाका अकिहिको भ्रमणका सन्दर्भमा हुने छलफल र सहयोग आदानप्रदानका विषयमा पनि आजको भेटमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

‘अध्यक्षको आगामी नेपाल भ्रमण, शिक्षा, ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास सहयोगलगायत आपसी हितका विविध विषयमा पनि दुई पक्षबीच विचारविमर्श भएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। 

तर, जाइकाको अध्यक्ष कहिले नेपाल आउने भन्ने भ्रमण तालिका परराष्ट्र मन्त्रालयले खुलाएको छैन। 

त्यसबाहेक भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ। 

राजदूत र मन्त्रीको भेटवार्तामा नेपाल र जापानबीचको विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने र पारस्परिक सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा समेत सकारात्मक छलफल भएका बताएको छ।

जाइकाको मुख्य ऋण सहयोगमा बनेको नागढुङ्गा सुरूङमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आउने क्रममा छ। 

काभ्रेको धुलिखेलदेखि सिन्धुली हुँदै बर्दिबास जोड्ने १६० किमि लामो यो राजमार्ग जाइकाको अनुदान सहयोगमा बनेको थियो। 

बाढीपहिरोले क्षति पुर्‍याएको यस सडकको पुनर्निर्माणमा समेत जाइकाले सहयोग गरिरहेको छ। 

अहिले जाइकाकै सहयोगमा काठमाडौं ट्राफिक जाम कम गर्न फ्लाईओभर निर्माण तथा उपत्यकाको सहरी यातायात व्यवस्थापन र सुधारका लागि गुरुयोजना बनाएरै काम गरिरहेको छ।

२०७२ मा भूकम्पले क्षति पुर्‍याएको विद्यालय पुनर्निर्माण परियोजनामा पनि जाइकाले सहयोग उपलब्ध गराएको थियो। त्यसबाहेक, जाइकाले नेपालमा विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न समुदायमा आधारित कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ।

काठमाडौं उपत्यकामा पिउने पानीको आपूर्ति व्यवस्थाको लागि पनि जाइकाको सहयोग उपलब्ध छ। 

त्यसबाहेक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्यः विमानस्थलको आधुनिकीकरण, राडार प्रणालीको स्थापना तथा देशका प्रमुख विमानस्थलहरूमा उडान सुरक्षा सुविधाहरूको सुधारका लागि जाइकाले अनुदान सहयोग उपलब्ध गराएको छ।

जाइकाले जापानी अनुदान सहायताअन्तर्गत नेपाली निजामती कर्मचारी तथा इन्जिनियरहरूलाई उच्च शिक्षा अध्ययन र तालिमका लागि छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad