हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालन गर्न सरकारले सरोकारवालासँग सुझाव माग गरेको छ।
पूर्वाधार विकास मन्त्रालयले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले सुझाव माग गरेको हो।
मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझावहरू माग गरेको हो।
यस सम्बन्धमा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यवहारिक अभ्यासका आधारमा लिखित सुझाव [email protected] अथवा [email protected] मा साउन २० गतेसम्म उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।
सुझावमा समावेश गर्नु पर्ने विषय
१. हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाइहरू
३. उत्पादन, भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देश
४. आईसीई तथा अन्य सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, प्रविधिगत आवश्यकता, लागत, सुरक्षा तथा नियामक पक्षसम्बन्धी सुझावहरू
५. प्राविधिक जनशक्ति, नियामक निकाय, उद्धार तथा आपत्कालीन सेवासहित आवश्यक क्षमता अभिवृद्धि तथा जनशक्ति विकास सम्बन्धी सुझावहरू
६. अन्य सान्दर्भिक विषयहरू
साथै, सुझाव पेश गर्नेले आफ्नो संस्था/निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र, सम्बन्धित अनुभव तथा सम्पर्क विवरण समेत अनिवार्य रूपमा समावेश गर्न मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयमा प्राप्त सुझावहरूलाई आवश्यक अध्ययन तथा विश्लेषण पश्चात् हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी नीति, कानुनी व्यवस्था, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा आवश्यकतानुसार उपयोग गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया