कारोबार


नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

नेपालखबर
फागुन ४, २०८२ सोमबार १२:१०, काठमाडौँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले कम्पनीको सेयरको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज)प्रति असन्तुष्टि जनाएको छ। 

विज्ञप्ति जारी गर्दै कम्पनीप्ले सेयरको ओपनिङ रेन्ज १०० देखि ३ सय रुपैयाँसम्म निर्धारण गरिएको जानकारी पाएको भन्दै अंकित मूल्यको तीन गुणासम्म मात्र मूल्य तोकिएकोमा असन्तुष्टि व्यक्त गरेको हो। 

‘यो सीमा यसअघि अन्य कम्पनीहरुको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ। 

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिकाबमोजिम कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएको थियो। ‘बुक बिल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित सेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी हो’, कम्पनीले भनेको छ।

कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराए पनि सोको सुनुवाइ नभएको कम्पनीको भनाइ छ। 

सोही कारण बाध्य भएर सूचीकरणमा जानुपरेको भन्दै कम्पनीले लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय स्थिति बुझ्न अनुरोध गरेको छ। 

कम्पनीको अनुसार प्रतिसेयर मूल्य ९१२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरुले कम्पनीको वित्तयि प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य हो। 

‘नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताहरुबीच सिलबन्दी बोलपत्रमार्फत ६०८ देखि ९१२ रुपैयाँसम्मको सेयर खरिद मूल्य सीमा कायम गरेको स्मरणीय छ’, कम्पनीले भनेको छ, ‘संस्थागत लगानीकर्ताद्वारा तय भएको मूल्यमा बुक बिल्डिङ निर्देशिकाबमोजिम १० प्रतिशत घटाएर आमसर्वसाधारण लगानीकर्ताका लागि ८२० रुपैयाँ ८० पैसा कायम भएको थियो।’ 

कम्पनीको वर्तमान वित्तीय स्थिति समेतले ९१२ रुपैयाँलाई समर्थन गर्ने रिलायन्सको दाबी छ। कम्पनीको २०८२÷०८३ को दोस्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा रहेको रिलायन्सले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad