कारोबार


ठूला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्न सुझाव

ठूला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्न सुझाव

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:४७, काठमाडौँ

सार्वजनिक यातायात अझै पनि व्यवस्थित हुन सकिरहेको छैन। पुराना अव्यवस्थित गाडीका कारण व्यवस्थित हुन नसकेको यातायात प्रणालीलाई सुधार्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। 

उनीहरूले इन्धनबाट चल्ने गाडीहरूलाई अब प्रतिस्थापन गर्दै ठूला विद्युतीय गाडीलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। आइतबार ट्रली बस स्थापनाको ५० वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा साझा यातायातका निःवर्तमान अध्यक्ष कनकमणी दिक्षितले ट्रलि बसको इतिहास हुँदै नेपाल (परिस्कृत स्वरुप) विद्युतीय गाडीको युगमा प्रवेश गरेको बताए। उनले अब त्यस्ता गाडीहरू नेपालमै बनाउनुपर्नेमा जोड दिए।  

निःवर्तमान अध्यक्ष दिक्षितले भने–‘योजनाअनुसार गर्ने हो भने विद्युतीय सवारी साधन जसले इनर्जी उपयोग गर्छ, के त्यो नेपालको लागि राम्रा होइन र? नेपालको राजनीति यताउता जाँदा हामीले चाहिने कुरामा ध्यान दिन सकेनौँ। चाइनिजले दिएको ट्रली बस एउटा लाइन मात्रै बाँकी रह्यो। अर्को ट्रली लाइनको विस्तार जतिबेला तान्न सजिलै सकिन्थ्यो होला तर हुनै सकेन। यसमा राजीतिकदेखि भूराजनीतिक कुराहरूले समेत असर गरेको देखिन्छ। विगतको ट्रली बसलाई हेरेर आउँदो दिनको इलेक्ट्रिसिटी ड्रिभन पब्लिक ट्रान्सपोर्ट बनाउनुपर्छ।’

कार्यक्रममा ट्रली बस पूर्वचालक पूण्यप्रसाद भण्डारीले चरम राजनीतिकरणका कारण नाफामूलक ट्रली बसलाई धराशायी बनाइएको बताए। उनकाअनुसार अब ट्रली बस सञ्चालन गर्दा २०४६ सालअघि तीनलाखसम्म नाफा हुन्थ्यो तर विस्तारै बन्दै गर्ने अवस्थामा पुर्‍याइयो।

पूर्वचालक भण्डारीले भने–‘२०३२ सालमा शिलन्यास भएको ट्रली बस २०३३ देखि मिन भवनदेखि त्रिपुरेश्वरसम्म ट्रलिबस चलेको थियो। त्यसको अर्को वर्षदेखि सूर्यविनायकसम्म ट्रली बस चलेको थियो। ट्रली बस सञ्चालन गर्दा २०४६ सालअघि अडाइदेखि तीनलाखसम्म नाफा हुन्थ्यो। २०४६ पछि ट्रली बस राजनीतिकरण भएको मैले रिपोर्टिङ पाएको थिए।’ 

साझा यातायातका सीइओ भूपेन्द्र ढकालले ट्रली बसको शुरुवात भएको स्थानबाट चीनले अनुदानमा दिन लागेको इभी बस ल्याएर संचालन गर्ने योजना बनाएको बताए। उनकाअनुसार पूर्वाधार निर्माणको काम ट्रली बस राखिएको भवन बाटै हुँदैछ। जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको उनको भनाइ छ।  

अध्यक्ष ढकालले भने–‘ट्रली बसको शुरुवात भएको स्थानबाट हामी सबैको प्रयासले अब दशैँमै चाइनाबाट अनुदानमा इभी बस ल्याएर सञ्चालन गर्ने योजना गरेका थिर्यौँ। विभिन्न कारणले सकिएन। पूर्वाधार निर्माणको काम हामीले ट्रली बस राखिएको भवन बाटै तयार गर्दैछौं। जेन–जी आन्दोलनका कारणले बस ल्याउन ढिलाइ भएको छ। बस नआउँदा सम्म छिटो ट्रली बस भएको ठाउँ सफाइ गरेर सूर्यविनायकदेखि ट्रलीबस जुन स्पोर्टसम्म चलेको थियो त्यहाँ हामीले परिस्कृत स्वरुप इभी बस चलाउँदैछौं।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात राज्यको प्राथमिकतामा विगतमा नपरेको स्वीकारे। उनले अहिले भने प्राथमिकता पाएको छ। विद्युतीय गाडीमार्फत अब राजधानीमा यातायात व्यवस्था प्रभावकारी बनाउने योजना छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलले भने–‘हामीले चाइना सरकारसँग पटकपटक कुरा गरेर अहिले १०० ओटा इभी साझा यातायातलाई उपलव्ध गराउन खोजिरहेका छौं। यो करिव करिव टुंगोमा पुगेको छ र ती इभी आएपछि काठमाडौँका रुटमा हामीले विस्तारै इभीमय बनाउँदैछौं। इभीले डिजेल, पेट्रोलका गाडीले प्रतिस्थापन गर्नेछ। हामीले रिसर्चको कामहरू गर्न सकिरहेका छैनौँ। साझासँग मिलेर केही काम गर्नेछौँं। सरकारले कर छूटमार्फत इभीलाई सुविधा दिएको नै छ। साना गाडीमा त्यसले काम गरेपनि सार्वजनिक यातायातमा त्यसले काम गर्न सकिरहेको छैन्। हामीले चाहेको इभी सार्वजनिक यातायात नै हो। त्यस्ता इभी गाडीलाई कसरी सस्तो बनाउन सकिन्छ भन्नेबारे हामीले थप काम गर्नुपर्नेछ।’ 

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले विद्युतीय गाडीलाई राज्यले विशेष सहुलियत दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad