अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रकरणमा मुद्दा दायर गर्दै छ।
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिमा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो।
अख्तियार स्रोतका अनुसार आयोगको बिहीबार बिहान बसेको बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो।
आयोगका एक अधिकारीले नेपालखबरसँग भने, ‘आज बिहान बसेको बैठकले मुद्दा दर्ता गर्ने निर्णय गरेर अहिले विशेष अदालतमा सबै फाइल पठाइसकिएको छ। आजै दर्ता हुन्छ।’
टेरामक्ससम्बन्धी उपकरण नेपालमा ल्याए पनि कानुन नबनाएको आरोप लाग्दै आएको छ। विदेशबाट आउने फोनकलको अवैध वाइपासगरी राजस्व छलीको नियमन गर्न दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरेको थियो।
टेन्डर खरिद गर्दा दिगम्बर झा प्राधिकरणको अध्यक्ष थिए। मुद्दा मामिलापछि अदालतले खरिद प्रक्रियाको बाटो खुलाए पनि २०७८ मा अध्यक्ष पुरुषोत्तम खनालले ठेक्का सम्झौता गरेका थिए।
साइप्रसमा दर्ता भएको भेनराइस कम्पनीले २ करोड ३७ लाख ७० हजार डलरमा ठेक्का पाएको छ। अख्तियारले २०८० माघमा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मोहन बस्नेतसँग समेत बयान लिएको थियो।
तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्याल र महेन्द्रमान गुरुङसँग समेत आयोगले बयान लिएको थियो। अख्तियारले कुन कुन व्यक्तिलाई जिम्मेवार ठहराई मुद्दा दायर गर्दै छ भन्ने विषय खुलेको छैन।
Shares

प्रतिक्रिया