विक्रम संवत् २०८१ लाई विदाइ गर्दै नेपालले नयाँ वर्ष २०८२ को यात्रा सुरु गरेको छ।
नयाँ वर्षको सुरुवातसँगै देशले यातायातको क्षेत्रमा केही नयाँ पाइलाहरु चाल्दै छ। अर्थात् २०८२ नेपालका लागि सुरुङ यातायात र फ्लाइओभर प्रयोगका हिसाबले यात्राको नयाँ प्रस्थानविन्दु बन्ने देखिएको छ।
सर्वसाधारणले पनि २०८१ को तुलनामा सहज यात्रा गर्न पाउनेछन्। देशभर निर्माण सुरु भई अवधि लम्बिँदा सास्ती भोगिरहेका यात्रुलाई केही सहज हुनेछ। मुख्य सडकहरु बुटवल–नारायणगढ–दाउन्नेसहित एकतर्फी कालोपत्रे हुनेछ भने मुग्लिङ–पोखराको सडक कालोपत्रे भइसक्नेछ।
अहिले गाडीबाट गन्तव्यमा जाँदा कुनै निश्चित अवधि छैन। सामान्य अवस्थाको तुलनामा दोब्बर समय खर्च हुन्छ। काठमाडौं भित्रिँदा नागढुंगाको उकालोमा घण्टौँ कुर्नुपर्ने यात्रुले सुरुङमार्ग हुँदै आधा घण्टाअघि नै प्रवेश गर्न पाउनेछन्।
काठमाडौं चक्रपथको यात्रा गर्दा नारायणगोपाल चोक–कलंकी धूलो खाँदै ग्वार्को कट्न सास्ती छ। नयाँ वर्षमा चक्रपथको धूलो वा हिलोमा छल्न नपाए पनि ग्वार्कोमा फ्लाई ओभरको बाटो हिँड्न पाउनेछन्।
२०८२ मा सिद्धबाबा सुरुङमार्ग, सूर्यविनायक धुलिखेल सडक अन्तिम चरणमा पुगे पनि २०८३ बाट मात्रै सञ्चालनमा आउनेछन्। सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पनि अन्य काम धेरै बाँकी छ। नागढुंगा–मुग्लिङ सडक विस्तार, बुटवल–गोरुसिंगे सडक विस्तारलाई यात्रुले झेल्नु नै पर्नेछ।
तर अबका पूर्वाधार निर्माण लथालिंग पाराले नहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेको छ। सडक विस्तार गर्दा छेउछाउमा बनेपछि मात्रै बीचको कालोपत्रे भत्काए कम कष्ट हुनेछ। सडक पूर्वाधारका निर्माण नसकिए पनि पछिल्ला ३–४ वर्षको तुलनामा सहज यात्रा गर्न पाउनेछन्।

फ्लाइओभरबाट हुइँकिनेछन् गाडी
२०८१ को चैतभित्रै सकिने पर्ने ग्वार्को ओभरपास डिजाइन त्रुटिले २०८२ को सुरुवातमै सञ्चालनमा आउने भएको छ।
आयोजनाको निर्माण अवधि सकिएर हर्जना तिरेर काम गरिरहेको ठेकेदारले अबको केही महिनाभित्रै निर्माण सकेर हस्तान्तरण गर्नेछ।
२०७९ पुसबाट फ्लाइओभर निर्माण सुरु भए पनि डिजाइनमै त्रुटि हुँदा यात्रुलाई सास्ती र निर्माण कम्पनीले घाटा व्यहोरिरहेको छ। निर्माण सुरु भएको १ महिनामै फ्लाइओभरको डिजाइन परिवर्तन गर्नुपरेको थियो।
२ वर्षअघि पुसमा सुरु भएको काम माघमा रोकिएको थियो। लामो समय डिजाइनको कामले पूर्णता नपाउँदा निर्माणमा ढिलाइ भएको थियो। यसको निर्माणका लागि १७ करोड ६ लाखमा ठेक्का सम्झौता भएको छ।

पहिलो सुरुङमार्ग सञ्चालनमा आउने
नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएर करिब ९० प्रतिशत काम सकिएको छ। स्थानीय अवरोधले समय–समयमा रोकिने आयोजना २०८२ मा सञ्चालनमा आउनेछ। नागढुंगा सुरुङमार्ग छेडिँदा करिब २.५ किलोमिटर छोटो हुनेछ।
हाल सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम भइरहेको छ। आयोजनाले २०२५ को अक्टोबर २५ अर्थात् तिहारसम्म सक्ने लक्ष्य राखेको भए पनि स्थानीयले रोजगारी, खानेपानीको व्यवस्थापन लगायतको कारणले अवरोध गर्दा केही ढिलाइ हुने देखिएको छ।
२०८२ को मंसिर/पुसबाट नियमित गाडी चलाउने गरी काम भइरहेको छ।
‘काठमाडौं प्रवेश गर्दा उकालो भएकाले ट्रक, बसहरुलाई बढी समय लाग्ने गरेको थियो’, नागढुंगा सुरुङमार्ग आयोजनाका सीडीई सञ्जय पन्थीले भने, ‘सुरुङमार्गबाट गाडी चल्न थालेसँगै ट्रक÷बसहरुलाई आधा घण्टा समय छोटिनेछ। अरु साधनहरु पनि विना अवरोध काठमाडौं प्रवेश गर्नेछन्।’
२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ। यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा जाइकाको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोतबाट लगानी भइरहेको छ।

२ घण्टामै मुग्लिङबाट पोखरा
मुग्लिङ–पोखरा सडक २ खण्डमा सडक विस्तार भइरहेको छ। पूर्वी खण्डको विस्तारले तीव्रता पाएको छ भने पश्चिम खण्डको ठेक्कामा केही ढिलाइ भइरहेको छ।
सडक विभागअन्तर्गतकै एडीबी आयोजना निर्देशनालयका सुपरिटेन्डेन्ट इन्जिनियर चुडाराज ढकालले २०८२ मा मुग्लिङ–पोखरा सडक पूर्ण रुपमा निर्माण भइसक्ने बताउँछन्।
‘पूर्वी खण्डको काम तीव्रगतिमा भइरहेको छ। असारसम्म पूर्वी खण्ड सकिने अनुमान छ’, ढकाल भन्छन्, ‘पश्चिम खण्डमा ६ लेनको सडकका लागि धेरै काम बाँकी छ। पोल सार्न पनि नसक्दा ढिलाइ भइरहेकोमा अब हट्दै गएका छन्।’
पोखरा–मुग्लिङ खण्ड हुँदै यात्रा गर्नेले पछिल्ला वर्षमा दुःख पाए पनि अब सहज यात्रा गर्न पाउने सडक विभागको दाबी छ।
‘अहिले मुग्लिङबाट पोखरा पुग्न ३–४ घण्टा लाग्दै आएको छ’, उनी भन्छन्, ‘२०८२ मा सडक निर्माण सकिएर डेढदेखि २ घण्टामै मुग्लिङबाट पोखरा पुग्न सकिन्छ।’

नयाँ दशैँमा नारायणगढ–बुटवलको कालोपत्रे सडकको यात्रा
देशकै व्यस्त सडक नारायणगढ–बुटवल २०८२ को दशैँबाट मात्रै सहजै यात्रा गर्न पाइने भएको छ। नारायणगढदेखि बुटवलसम्म दाउन्नेबाहेक २ लेनको कालोपत्रे भइसक्नेछ। दाउन्नेको करिब ५ किमि सडक दशैँसम्म मात्रै बन्नेछ।
गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल ४९ किमि गरी दुई खण्ड छन्। सडक विभागले सडकलाई २ खण्ड बनाई ठेक्का लगाए पनि निर्माण कम्पनी एउटै छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पूरै अर्थात् ११४ किमि सडक विस्तारको ठेक्का पाएको थियो।
गत पुस २६ गते ओभरलोड ट्रकका कारण नियी खोलाको पुल निर्माण हुँदै छ। नयाँ २५० मिटर लामो पुलको स्पानको ढलान भइसकेको छ।
वर्षातअघि नै पुल निर्माण गरी सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ।
दाउन्नेमा पानी पर्नेबित्तिकै १०–१२ घण्टासम्म यात्रु फस्ने गरेका छन्। कहिले गाडी फसेर त कहिले पहाड कटान गर्दा यात्रुले सास्ती भोगिरहेका छन्। माटो पुरिएको ठाउँमा ठूला गाडी फस्दा घण्टौँ जाम हुने गरेको छ।
‘बुटवल–नारायणगढको पूरा सडक बन्न २०८३ नै कुर्नुपर्छ’, आयोजना निर्देशनालयका ई. ढकाल भन्छन्, ‘तर वैशाखसम्म दाउन्नेबाहेकको सडक २ लेन कालोपत्रे हुन्छ। दाउन्नेमा निर्माण कम्पनीले असारसम्म गर्छु भने पनि दशैँबाट यात्रुले सहज यात्रा गर्न पाउँछन्।’
हाल विना अवरोध नारायणगढबाट बुटवल पुग्दा ५–६ घण्टा लग्ने गरेको छ। चारलेनको सडक विस्तार हुन समय लागे पनि २ लेन कालोपत्रेले जोडिँदा साढे २ घण्टामा बुटवल पुगिनेछ।
‘अहिले त कति घण्टामा पुगिन्छ, निश्चित छैन। २ लेनको कालोपत्रेले जोडिँदा समय आधा घट्छ’, ढकाल भन्छन्, ‘४ लेनकै सडक हुँदा डेढदेखि २ घण्टामै बुटवल पुग्न सकिन्छ।’
२०७५ चैत ८ गते बुटवलबाट दुवै खण्डको शिलान्यास भएको थियो। सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७–७ मिटरको हुनेछ।
बजार क्षेत्रमा ६–६ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ। बाँकी क्षेत्रमा ४ लेनको बन्नेछ।

कमला–कञ्चनपुर सडक निर्माण सकिँदै
पूर्व–पश्चिम राजमार्गको सिरहादेखि सप्तरीसम्म ४ लेनमै विस्तार भइरहेको छ। २०७७ कात्तिकमै ठेक्का लागे पनि समयमा काम नहुँदा ४ वर्षसम्म निर्माण सकिएको छैन। ८६.८२ किमि सडक २०८२ मा सक्ने लक्ष्य राखेको छ।
२ खण्ड बनाई ठेक्का लगाएको सडक करिब ५५ प्रतिशत काम सकिएको छ। सरकारले २०८२ पुससम्म म्याद थप गरिएको छ। पश्चिम खण्डमा २५ वटा पुलमध्ये १८ वटाको काम सकिएको छ।
‘कमला–कञ्चनपुर सडकको काम २०८२ भित्रै निर्माण सकाएर प्रयोगमा ल्याउँछौँ’, एडीबी निर्देशनालयका प्रमुख ढकालले भने।
Shares

प्रतिक्रिया