कारोबार


नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने

नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १४:२६, काठमाडौँ

नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ।

बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो। 

संयुक्त वाणिज्य परिषदको गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । सो कार्यका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्स इन थाइल्यान्डका अध्यक्ष विवेक लिज्यान्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो।

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए।

‘नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ,’ उनले भने।

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजिकरणका लागि महासंघले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराउँदै नेपालमा थाई व्यवसायीहरुसँग संयुक्त रुपमा लगानी गर्न सकिने समेत बताए।

थाइल्यान्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रण गरे। 

 ढकाले थाई सरकारलाई नेपालीहरुका लागि अनअरावल भिषा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह  गरे।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखे। उनले नेपालमा गरिने लगानीको सहजताका लागि  महासंघले नेपाल सरकारसँग आवश्यक सहजिकरण गर्ने समेत बताए। 

 थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले महासंघका तर्फबाट व्यक्त धारणाहरु प्रति आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad