नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी लिखित सुझाव पेस गरेको छ।
अध्यक्ष करण चौधरीको नेतृत्वमा सोमबार गएको नाडा टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट गर्दै ६ बुँदे लिखित सुझाव दिएको हो।
छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको, देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने, लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नै नेपालमा ल्याएर बिक्रीवितरण भइरहेकोले यसलाई रोक्नुपर्ने बताएका थिए।
चौधरीले नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्ट्यान्डर्डको व्यवस्था नभएको जिकिर गर्दै बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको उल्लेख गरेको नाडाले जनाएको छ। उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माणका लागि समेत आग्रह गरेका थिए।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्न आग्रह पनि गरे। नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालका ब्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखेका थिए।
मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे विना कुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताएका थिए। उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझावहरु राजस्व परामर्श समितिमा पठाउन अनुरोध समेत गरे।
सोही क्रममा मन्त्री भण्डारीले एजेन्सी दर्तासम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने बताए। सो क्रममा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लागिरहेको बताए।
उक्त भेटघाट तथा छलफलमा सो मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल र स्वकिय सचिव आनन्दप्रसाद भट्ट समेतको उपस्थिति रहेको थियो। त्यसैगरी नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया