चीनको राजधानी सहर बेइजिङस्थित नेपाली दूतावास र चीन सरकारको चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेडले नेपाल चाइना इन्भेष्टमेन्ट एन्ड ट्रेड समिट आयोजना गरेका छन्।
सम्मेलनमा सहभागी चाइना र नेपालका उद्यमी व्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनशक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि नीति तथा साइवर सुरक्षामा सहकार्यमा जोड दिएका छन् ।
व्यावसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सल्टिङ साझेदार नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का कार्यकारी अध्यक्ष विशाल गैरेले चिनिया लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गरे। एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक विकासमा उल्लेखनीय प्रगति हुने उनको दाबी थियो।
नयाँ सरकार बनेसँगै स्थिर सरकार र स्थिर नीति बन्दै गएकाले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन उनले आह्वान गरे। उच्च गतिको इन्टरनेट पँहुच, डाटा सेन्टर र क्लाउड पूर्वाधार, डिजिटल साक्षरता, साइवर सुरक्षा, एआई नीति र कानुनी व्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको विकास र डिजिल अर्थतन्त्रबारे म्याचमेकिङ् सेसनमा अध्यक्ष गैरेले प्रस्तुति दिएका थिए।
चीनस्थित एम्बासडर रिसिप्सनले समन्वय गरेको सोही कार्यक्रममा चीनका लागि नेपाली दूतावासकी कार्यवाहक राजदुत रोशन खनालले नितिगत कठिनाइहरुको सम्बोधन र एफडीआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनिया ब्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराए।
नेपालको पछिल्लो तथ्यांकमा चीन नेपालमा एफडीआईमार्फत सबैभन्दा बढी लगानी गर्ने देश भएको उनको भनाइ छ।
नेपालमा लगानीको अवशर तथा नीतिगत व्यवस्थाबारे दूतावासी आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुती दिएकी थिइन् भने नेपालमा गएका एफएनसीसीआई, नियार्त व्यवसायी महासंघलगायतका संस्थाहरुले ऊर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत विभिन्न व्यवसायबारे विभिन्न प्रस्तुति र बिटुवी म्याचमेकिङ् कार्यक्रममा सहभागी भएका थिए ।
Shares

प्रतिक्रिया