कारोबार


गौरवका आयोजनाको गर्व गर्न नसकिने प्रगति, कुनको अवस्था कस्तो?

गौरवका आयोजनाको गर्व गर्न नसकिने प्रगति, कुनको अवस्था कस्तो?

काठमाडौं-तराई द्रुतमार्गको सुरुङ


वसन्त अर्याल
माघ २५, २०८१ शुक्रबार १८:३९, काठमाडौँ

राष्ट्रिय गौरवका आयोजनाको प्रगति घोषणमा मात्रै सीमित छ। 

हरेक वर्ष नयाँ आयोजना घोषणा गरे पनि पुराना आयोजनाको निर्माणमै ढिलाइ भइरहेको छ। 

चालू आर्थिक वर्षको ६ महिनामा कुल प्रगति २५.७० प्रतिशत खर्च भएको छ। २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो। 

चालूतर्फ २ अर्ब ६८ करोड ६१ लाख, पुँजीगततर्फ ६३ अर्ब २५ करोड ३५ लाख र वित्तीय व्यवस्थातर्फ ७५ करोड ५२ लाख गरी जम्मा ६६ अर्ब ७५ करोड ३ लाख विनियोजन गरिएको थियो।

साउन मसान्तदेखि पुससम्म १ अर्ब २१ करोड ३९ लाख, पुँजीगततर्फ १५ अर्ब ९३ करोड ९३ लाख गरी जम्मा १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ। 

अर्थ मन्त्रालयको वार्षिक समीक्षामा आयोजनाको पहिचान र छनौट निश्चित सिद्धान्त र मापदण्डको आधारमा हुन नसक्दा अप्ठ्यारो भएको उल्लेख छ। 

प्रतिवेदनअनुसार विद्यमान जग्गाप्राप्ति, वन क्षेत्र प्रयोग, मुआब्जा र पुनर्वाससम्बन्धी नीतिगत अन्योल छ।  

‘आयोजना निर्माण गर्ने मोडालिटी, कुल लागत, समयावधि, जग्गाप्राप्ति एवम् मुआब्जा, क्षतिपूर्ति, विस्तृत आयोजना प्रतिवेदनजस्ता पूर्वतयारीका कार्य पूरा नगरी आयोजना सुरुवात गर्नुले सुस्तता देखिएको छ’, समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘आवश्यक पूर्वतयारी प्रक्रियाहरु पूरा भएपछि मात्र आयोजना प्रारम्भ गर्ने।’

विभाग तथा मन्त्रालयले नै आयोजनाका लािग स्रोत सहमति र मध्यमकालीन खर्च संरचनाको अनुमानभन्दा न्यून बजेट प्रस्ताव गर्ने प्रवृत्ति रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कमजोर खरिद तथा ठेक्का व्यवस्थापन प्रणाली, आयोजना व्यवस्थापनमा कठिनाइ, अनुगमन तथा मूल्यांकनको न्यून प्रभावकारिता, तहगत तथा निकायगन समन्वयको कमी, जनशक्ति व्यवस्थापन र कच्चापदार्थ आपूर्ति अवरोधजस्ता समस्या रहेको औँलाइएको छ। 

ओलीको रेल सुस्त, हुलाकी राजमार्गको गति बढ्दै
प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले प्राथमिकतामा राखेको रेलमार्गको गति एकदमै सुस्त छ। सरकारले बजेट र कार्यक्रममा सधैँ प्राथमिकता राख्ने राष्ट्रिय आयोजनाको प्रगति सुस्त छ। 

गौरवका आयोजनामध्ये सबैभन्दा बढी सडक आयोजना तुलनात्मक रुपमा केही राम्रो देखिन्छ। हुलाकी राजमार्ग र कालीगण्डकी करिडोरको करिब ८० प्रतिशत खर्च भएको देखिन्छ। 

पुष्पलाल मध्यपहाडी राजमार्गको १८ सय ७९ किमिमध्ये हालसम्म १५ सय १३ किमि निर्माण भएको छ। चालू आर्थिक वर्षमा ३ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याइएकोमा १ अर्ब ११ करोड बजेट खर्च भएको छ। आव ०८०/०८१ सम्म ७७.३२ प्रतिशत खर्च भएको थियो।

हुलाकी राजमार्गको १८ सय ५७ किलोमिटरमध्ये १३६४ किमि सडक निर्माण भएको छ। चालू आर्थिक वर्षमा हुलाकी राजमार्गको प्रगति सबैभन्दा राम्रो छ। ४ अर्ब ३ करोड बजेट विनियोजन गरेकोमा ३ अर्ब १९ करोड खर्च भइसकेको छ। हुलाकी राजमार्गका ७ वटा पुल र ३ कल्भर्ट गरी १० पुल निर्माण भएका छन्। गत असारसम्म यसको कुल भौतिक प्रगति ६६ प्रतिशत छ। 

कोशी करिडोरको १६२ किमिमध्ये ३.५ किमि मात्रै कालोपत्रे भएको छ। यसमा ग्राभलेल ८० किमि भएको छ भने ७९ किमि कच्ची सडक छ।

यस करिडोरमा १० पुल निर्माण भएका छन्। गत आर्थिक वर्षसम्म कुल प्रगति ४८ प्रतिशत रहेको उक्त राजमार्गकै खाँदबारी किमाथांका १०.५१ किमि सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। जसमा ७.३ किमि ट्रयाक खुलेको छ।

कालीगण्डकी करिडोरको गैंडाकोट–मालढुंगा २९३ मध्ये चालू १९५ किमि कालोपत्रे, ३० किमि ग्राभेल र ७६ किमि कच्ची निर्माण भएको छ।

उक्त सडकमा ४ वटा पुल निर्माण भएका छन्। बेनीदेखि कोरलासम्म २०२ किमिमध्ये ९३.५ किमि कालोपत्रे, १२० किमि ग्राभेल र २७ किमि कच्ची सडक निर्माण भएको छ। उक्त खण्डमा ६ वटा पुल निर्माण भएका छन्। चालू आर्थिक वर्षको ६ महिनामा ७९.९९ प्रतिशत प्रगति भएको छ। 

यता कर्णाली करिडोर १४५ किमिमध्ये १७.७ किमि ग्राभेल र १३५ किमि कच्ची सडक निर्माण भएको छ। गत आर्थिक वर्षसम्म यो करिडोरमा ३० प्रतिशत प्रगति भएको छ। चालू आर्थिक वर्षमा तोकिएको लक्ष्यमध्ये २७.४९ प्रतिशत काम भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको २२ किमिमध्ये १५.३५ किमि ट्रयाक निर्माण खुलेको छ। चालू आर्थिक वर्षको लक्ष्यमा ५१.४७ प्रतिशत काम भएको प्रतिवेदनमा उल्लेख छ। 

रेल मेट्रो रेल तथा मोनोरेल विकास आयोजना एक हजार ३ किमिमध्ये ७० किमिमा काम भइरहेको छ। बर्दिबास–चोचा रेलमार्ग खण्डको कार्यअन्तर्गत ६ किमि, ट्रयाक बेड र ४ वटा रेलवे पुल निर्माणसम्पन्न भएको छ। गत आर्थिक वर्षसम्म कुल ५ प्रतिशत काम भएकोमा चालू आर्थिक वर्षको लक्ष्यको मात्र ४.७० प्रतिशत खर्च भएको छ। 

काठमाडौं–तराई द्रुतमार्गको ७०.९ किमिमध्ये ३ हजार ४२२ मिटर सुरुङ खन्ने काम सकिएको छ। लेनडाँडा सुरुङ ३.२४ किमि तथा निजगढ काठमाडौंतर्फको १.६५ किमि लम्बाइ सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। 

गत आर्थिक वर्षमा ३५.३८ प्रतिशत प्रगति भएको यो आयोजनामा चालू आर्थिक वर्षको ६ महिनामा पनि लक्ष्यको २३.५९ प्रतिशत मात्र प्रगति भएको छ। ललितपुरमा जग्गा अधिग्रहण नै गर्न सकेको छैन भने जम्मा ८९ स्थानका पुलहरुमध्ये ५० स्थानका पुलहरुको फाउन्डेसन निर्माण भई ५ स्थानमा निर्माणसम्पन्न भएको छ।

निजगढ विमानस्थलको खर्च शून्य, एमसीएको ८.३२ प्रतिशत
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि २५ करोड बजेट विनियोजन गरे पनि कुनै प्रगति भएको छ। हाल बकैया खोलामा नदी नियन्त्रण कार्य भएको छ। 

पशुपति क्षेत्र विकास कोषलाई २१ करोड बजेट छु्ट्याइएकोमा सबै खर्च भएको छ। लुम्बिनी विकास कोषको ४५ करोड बजेट विनियोजन भएकोमा ४४ करोड खर्च भएको छ। लुम्बिनी गुरुयोजना क्षेत्रभित्रका सडक सञ्जाल, फुटपाथ, सडक लाइटलगायतका कार्य ७२.५ प्रतिशत भएको छ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा १८ लाख ९६ हजार २५५ हेक्टर संरक्षण गर्ने लक्ष्य राखिएको छ। चालू आर्थिक वर्षमा कोशीटप्पु वन्यजन्तु आरक्षणमा १०० मिटर तटबन्ध निर्माण भएको छ। २ लाख बिरुवा उत्पादन वृक्षरोपण तथा वितरण गरिएको छ। चालू आर्थिक वर्षमा १ अर्ब ५ करोड बजेट विनियोजन गरिएकोमा १३ करोड खर्च भएको छ। 

उता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालको हालसम्म ३० किमि प्रसारणलाइनको पुनः सर्भेको काम भएको छ। चालू आर्थिक वर्षमा १३ अर्ब ३६ करोड बजेट विनियोजन गरेकोमा १ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ। आयोजनामा चालू आर्थिक वर्षको लक्ष्यको ८.३२ प्रतिशत खर्च भएको छ। माथिल्लो तामाकोशी, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माणसम्पन्न भएको छ। 

त्यसबाहेक बूढीगण्डकी जलविद्युत् आयोजनाबाट १२ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमा मुआब्जा वितरण भइरहेको छ। चालू आर्थिक वर्षमा ५० करोड बजेट छु्ट्याइएकोमा कुनै खर्च भएको छैन। 

मेलम्ची खानेपानी आयोजनाको कुल प्रगति ९८.४५ प्रतिशत पुगेर रोकिएको छ। यांग्री लार्के नदी डाइभर्सन गर्ने दोस्रो चरणको आयोजनामध्ये ४२ किमि प्रवेशमार्ग निर्माण भएको छ। 

३५ वषदेखिका सिँचाइ आयोजना, प्रगति निराशाजनक
बबई सिँचाइ आयोजनाले ३६ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखे पनि ५०० हेक्टर सिञ्चित क्षेत्र विकास तथा विस्तार भएको छ। हालसम्म ६३.१ किमि मूल नहर र ३२० किमि शाखा नहर निर्माण गरिएको छ। चालू आर्थिक वर्षमा १ अर्ब ७९ करोड बजेट विनियोजन भएकोमा ६६ करोड खर्च भएको छ। 

महाकाली सिँचाइ आयोजनाबाट ३३ हजार ५२० हेक्टर सिँचाइ लक्ष्य राखिएकामा २८ किमि मूल नहर, १२ किमि शाखा नहर, २१ किमि तटबन्ध निर्माण गरिएको छ। चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब बजेट विनियोजन भएकोमा ७१ करोड खर्च भएको छ। 

सिक्टा सिँचाइ आयोजना ३३ हजार ५२० हेक्टर सिँचाइ गर्ने लक्ष्यसहित २०६३/६४ बाट सुरु भएको थियो। ९८.२५ किमि मूल नहर निर्माण भएको आयोजनामा चालू आर्थिक वर्षमा १ अर्ब ६० करोड बजेट विनियोजन भएकोमा ४३ करोड खर्च भएको छ। 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट ३८ हजार ३ हेक्टर सिँचाइ गर्ने योजना छ। यसमा १४ किमि लम्की नहर निर्माण भएको छ। चालू आर्थिक वर्षमा २ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेकोमा ५५ करोड रुपैयाँ खर्च भएको छ। जुन वार्षिक लक्ष्यको ६ महिनामा जम्मा १९.३५ प्रतिशत हो। 

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट ५१ हेक्टर सिँचाइ र ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। भेरी बबईको सुरुङ छेडिइसकेको छ भने पावर हाउस निर्माणस्थलको करिब ९० प्रतिशत काम भएको छ। गत आर्थिक वर्षसम्म कुल प्रगति ६५.८ प्रतिशत रहेको आयोजनामा चालू आर्थिक वर्षमा २ अर्ब ५ करोड बजेट विनियोजन गरेकोमा पुससम्म ५२ करोड खर्च भएको छ। 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट १ लाख २२ हेक्टर सिँचाइ र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो।

यसमा टनेल बोरिङ मेसिनबाट १३.३ किमि सुरुङ खन्ने काम सम्पन्न भएको छ। चालू आर्थिक वर्षमा २ अर्ब ९९ करोड बजेट विनियोजन गरिएकोमा ५४ करोड खर्च भइसकेको छ। हालसम्मको कुल प्रगति ३४.४ प्रतिशत छ। 

चालू आर्थिक वर्षमा थपिए ३ गौरवका आयोजना 
मूलपानी क्रिकेट एकेडमी तथा रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थप गरेको छ।

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला २०८५/०८६ मा सम्पन्न गर्ने लक्ष्य भए पनि अन्य आयोजनाको मिति नै तोकिएको छैन। 

गौतमबुद्ध क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरे पनि बजेट अभावमा काम गर्न सकेनन्।

हाल बागमती प्रदेश र भरतपुर महानगरपालिकाको नेतृत्वमा काम भइरहेको छ। मूलपानी रंगशालाको मैदान तयार भए पनि मुआब्जालगायतको कारण टुंग्याउन नसकेको खेलकुद मन्त्रालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad