कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल संघ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ।
संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघका सल्लाहकार परिषद्का अध्यक्ष हरि शर्मा गैरे, होटल संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, संघका सल्लाहकार विश्वशङ्कर पालिखे, संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी र महासचिव गणेशराज पहारी छन्।
संघले व्यवसायलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ।
कोरोना भाइरसको विश्व्यापी संक्रमणसँग पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई दृष्टिगत गरी संघले मानव स्वास्थ्य र खाद्य स्वच्छतामा ध्यान पु¥याउन सदस्य होटललाई आग्रह गरेको छ।
संघका अध्यक्ष तुलाचनले कोरोनाविरुद्ध होटल प्रतिष्ठानमा मानव स्वास्थ्य र खानाको स्वच्छता सम्बन्धमा सचेतना फैलाउनुपर्नेमा जोड दिए।
‘प्रत्येक व्यसायी कर्मचारी, पर्यटक र ग्राहकलाई समेत यस्तो सचेतनामा समेट्नुपर्छ,’ उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियान सञ्चालन गर्ने र यसका लागि मेन्यूमा छुट दिने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय हामीले गरेका छौँ।’
संघले होटल क्षेत्रको लगानी सुरक्षित गर्न सरकारसँग विशेष राहत प्याकेज घोषणाका लागि अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय पनि संघले गरेको छ।
समितिले कोरोनाको असरका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक असरविरुद्ध जुध्न रणनीति तय गर्ने, राहत र अन्य सुविधाका लागि नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग छलफल र समन्वय गर्ने महासचिव पहारीले बताए।
कार्यक्रममा नेपालमा हालसम्म कोरोना नभित्रिएको र यसबाट मानिसको ज्यान पनि नगएको विषयलाई प्रचार र मनन गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए।
केही व्यवसायीले कोरोनाका कारण व्यवसायलाई टिकाउनै मुश्किल परेको दुखेसो पोख्दै होटल बनाउन बैंकसँग लिएको ऋणको ब्याजदर, भाडामा घर लिएर सञ्चालित होटलले भाडा तिर्न समस्या परेको गुनासो गरेका थिए।

प्रतिक्रिया