राष्ट्रपति विद्यादेवी भण्डारीले ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
८ मार्चका अवसरमा राष्ट्रपति भण्डारीले आइतबार जारी गरेको शुभकामना सन्देशमा महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न सबै पक्ष अग्रसर हुनुपर्ने उल्लेख छ।
‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।
दिवसका अवसरमा राष्ट्रिय उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्नेमा भण्डारीले जोड दिएकी छन्।
‘नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ,’ सन्देशमा अगाडि भनिएको छ, ‘सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्य लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउनेजस्ता विषय महिलाको हक संरक्षणमा केन्द्रित छन्। यी लक्ष्य हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ।’
अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात् गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेकी छन्।
Shares

प्रतिक्रिया