कारोबार


हवाई क्षेत्रमा सरकार आफैंले केही गर्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

हवाई क्षेत्रमा सरकार आफैंले केही गर्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

नेपालखबर
असार १५, २०८३ सोमबार १६:५४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले नेपालको हवाइ क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारे।

मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढ्ने योजना बनाएको पनि बताए।

हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो।

उनले ईयूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दाबी गरे।

मन्त्री पौडेलले भने, ‘हामी जति संख्यामा पर्यटकहरु भित्रयाउने आकांक्षा देखेका छौँ। त्यही अनुसार हामीले योजनाहरू, नीतिहरू बनाइरहन्छौँ। तर हवाइ क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन। भएका कम्पनीका साथीहरूको पनि गुनासो मात्रै बढि छ। सप्रिँदै जाने भन्दा बिग्रँदै गएजस्तो देखिन्छ। र, अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराई हालौँ भन्ने अवस्था पनि छैन। धेरै चिजहरुबाट यो कम्पिलिकेट रहेछ भनेर मैले ३ महिनाको दौरानमा थाहा पाएँ।’

मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराए। 

कार्यक्रममा बोल्दै नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले आर्थिक समस्याका कारण नेपालको हवाई उड्डयनको क्षेत्रमा सुरक्षाको प्रश्न समेत उठने गरेको बताए। उनले निगम आफैंले पनि यसको सुरक्षाको अवस्थालाई सुदृढ बनाउनका लागि सरकारसँग पुँजीको लागि निरन्तर माग गर्दै आउनु परेको गुनासो पनि गरे।

निमित्त महाप्रबन्धक कालाखेतीले स्रोत साधनको उचित व्यवस्था गरेर अघि बढ्दा मात्रै नेपालको हवाई उडानको सुरक्षा पनि भरपर्दो हुने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad