ad ad

कारोबार


बुद्धको जुन विमानबाट १६ वर्षअघि को-पाइलटको तालिम लिए, त्यसैलाई सदाका लागि ह्यांगरमा बिसाए

बुद्धको जुन विमानबाट १६ वर्षअघि को-पाइलटको तालिम लिए, त्यसैलाई सदाका लागि ह्यांगरमा बिसाए

बुद्ध एयरका वरिष्ठ पाइलट शोभन बस्नेत इन्सेटमा र ह्यांगरमा बिसाइएको एटीआर जहाज


वसन्त अर्याल
भदौ २५, २०८१ मंगलबार १९:३२, काठमाडौँ

बुद्ध एयरको एउटा जहाजले मंगलबारदेखि सेवा पूरा गरी विश्राम लियो।

कम्पनीका वरिष्ठ पाइलट शोभन बस्नेतले मंगलबार जहाजको अन्तिम उडान गरे। बिहानै माउन्टेन फ्लाइट गरेर ह्यांगरमा बिसाएसँगै एटीआरको ४२ सिटे ९एन–एएनआई जहाज लामो यात्रा पूरा गरी बिदा भयो।

मंगलबारको पर्वतीय उडान वरिष्ठ पाइलट बस्नेतका लागि आफैँ पनि विशेष बन्न पुग्यो। १६ वर्षअघि उनले को–पाइलटको पहिलो तालिम यही जहाजबाट लिएका थिए। 

बुद्ध एयरका कर्मचारीले ९एन– एएनआई जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदा गरे। योसँगै अब उक्त जहाजका पार्टपुर्जा निकालेर पठाइन्छ। अध्ययन अनुसन्धानको लागि यसको प्रयोग हुन सक्छ। 

पाइलट करिअर सुरु भएको जहाजलाई बिदाइ गर्नु आफ्नो जीवनभरका लागि स्मरणीय भएको बताउँछन् बस्नेत। 

हेर्नुहोस् भिडिओ:

‘आफूले सुरुमा तालिम लिएको जहाज नै अन्तिमपटक उडान गर्न पाउँदा मेरो लागि गर्वको कुरा हो’, उनले नेपालखबरसँग भने, ‘मेरो जीवनभरको स्मरणको विषय भयो।’

जहाजको उमेर दिन, वर्षको आधारमा मानिँदैन। हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मतसम्भार गर्नैैपर्छ। तर पनि सधैँभरि उडान भने गर्न मिल्दैन। उत्पादक कम्पनीहरुले उडान साइकलअनुसार जहाजको कोटा तोकेका हुन्छन्।

‘कुनै अप्रिय घटना व्यहोर्नुपरेन’
नेपालमा १६ वर्षअघिबाट उडान सुरु गरेको यो जहाजले उत्पादक कम्पनीको डिजाइनअनुसार ७० हजार साइकल उडान गर्न सक्थ्यो। जुन मंगलबार पूरा गर्‍यो। 

१ साइकल भनेको एक अवतरण हो। यसको मतलब उक्त जहाजले ७० हजार पटक उडान अवतरण गर्‍यो। जसले १६ वर्षमा एक्लैले १८ लाख यात्रुलाई गन्तव्यमा पुर्‍यायो।

‘यो जहाजले ७० हजार साइकल पूरा गरेपछि उडान गर्न पाइँदैन भन्ने थाहा थियो। आज अन्तिम उडान हो र गर्दै छु भन्ने पनि थाहा थियो’, पाइलट बस्नेतले थपे, ‘१६ वर्षअघि यही जहाजबाटै को–पाइलटको तालिम लिएको थिएँ। अहिले आफैँले अन्तिम उडान गरेर ह्यांगरमा पुर्‍याएँ।’

पाइलट बस्नेतले सुरुमा २० घण्टा विचक्राफ्ट जहाज उडाएका थिए। त्यसयता लगातार एटीआर जहाज उडाउँदै आएका छन्। उनी अहिले एटीआर ७२ र ४२ दुवै जहाज उडाइरहेका छन्। 

‘अहिलेसम्म जहाज सुरक्षित रुपमा उडान गर्न सक्नु बुद्ध एयर र मेरो लागि ठूलो विषय हो’, उनी भन्छन्, ‘७० हजार साइकल पूरा गर्दा जहाजले कुनै अप्रिय घटना व्यहोर्नुपरेन।’

‘पूर्ण सञ्चालन अवधि पार गर्ने पहिलो एटीआर जहाज’
विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन। यसपछि जहाजलाई बिदाइ गर्नैपर्ने हुन्छ।

७० हजार साइकल पूरा हुने समयसम्म जहाजलाई मेनटेन गरेर उडान गर्न सक्नु कम्पनीको लागि महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ। ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो।

बुद्ध एयरले आईएफसीको ऋण सहयोगमा दुईवटा एटीआर–४२–३२० जहाज भित्र्याएको थियो। नेपालमा मात्र यसले ४० हजार उडान साइकल पूरा गरेको छ। सन् १९९७ मा एयर क्यालेडोनीले उडान गरेको थियो। बुद्धले सन् २००८ मा लिएको थियो। 

बुद्ध एयरको उक्त जहाजले १६ हजार ७०० केजीसम्म उडान गर्न सक्छ। बुद्ध एयरका अनुसार एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी बिदाइ गरिएको संसारमै आज (मंगलबार) पहिलोपटक हो।

‘मर्मतको अनुभव थिएन, यो विमानले सिकायो’
बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले सन् १९९५ मा बनेको विमान नेपालमा ल्याउनुभन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको बताए। 

विमान दुई किसिमले बिदाइ हुन्छन्। पहिलो विमान उत्पादकले दिएको साइकल र दोस्रो विमान सञ्चालकहरुले आर्थिक रुपमा सञ्चालन गर्न नसक्दा। तर यो जहाजले पूरा उडान भरेर भव्य बिदाइ पायो।  

थापाले भने, ‘नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकायो।’

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले एटीआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको बरु अब्बल प्रमाणित भएको बताए।

एटीआरबाट रेखदेखको प्रशंसा 
एटीआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको जहाज रेखदेख तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे।  

बुद्ध एयरले पोखराबाट नेपालगन्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ। बुद्ध एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ।

बिचक्राफ्ट उडान गरिरहेको बुद्ध एयरले नेपालमा एटीआर सिरिजमा पहिलो पटक ७२ सिटे र ४७ सिटे २ जहाज खरिद गरेको थियो। बुद्ध एयरले बढी यात्रु हुने ठाउँमा ७२ सिटे जहाज उडान गर्‍यो भने कम यात्रु हुने गन्तव्यमा ४७ सिटे जहाज उडायो। 

अहिले बुद्ध एयरले एटीआर जहाजबाट मात्रै उडान भर्छ। एटीआर ४२ भने पनि यसको सिट क्षमता ४७ छ। बुद्ध एयरसँग यस्ता ३ वटा जहाज छन्। 

विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ। बुद्ध एयर एटीआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .