ad ad

कारोबार


१८ लाख यात्रुलाई उडान सेवा दिएर बुद्धको एउटा जहाजको विदाइ

एटीआर जहाजले पूर्ण सञ्चालन अवधि पार गरेको संसारमा यो नै पहिलोपटक
१८ लाख यात्रुलाई उडान सेवा दिएर बुद्धको एउटा जहाजको विदाइ

बुद्ध एयरको एउटा जहाजले १८ लाख यात्रुलाई सेवा दिएसँगै उडान बन्द भएको छ।


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:३५, काठमाडौँ

बुद्ध एयरको एउटा जहाजले १८ लाख यात्रुलाई सेवा दिएसँगै उडान बन्द भएको छ।

बुद्ध एयरले सन् २००८ मा भित्र्याएको एटीआर ४२ जहाजबाट उडान बन्द गरेको हो। 

बुद्ध एयरले आईएफसीको ऋण सहयोगमा दुईवटा एटीआर–४२–३२० जहाज भित्र्याएको थियो। विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन। यसपछि जहाजलाई विदाइ गर्नैपर्ने हुन्छ।

जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ। तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन। हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नैपर्ने हुन्छ।

विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ। बुद्ध एयर एटीआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेको छ।

मंगलबार विदाइ गर्न लागेको जहाजले व्यावसायिक उडानमार्फत ७० हजार उडान अवतरण पूरा गरेको छ। यो जहाजले १६ वर्ष ३ दिन उडान गरेको कम्पनीले जनाएको छ।

एटीआरले अहिलेसम्म हजारौँ जहाजको निर्माण गरिसकेको छ। बुद्ध एयरका अनुसार एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी विदाइ गर्न लागेको संसारमै आज पहिलोपटक हो।

आजको विदाइ कार्यक्रममा ‘एटीआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए। 

यसैगरी एटीआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको जहाज रखराखव तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे। कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिति रहेको थियो। 

एटीआर जहाजहरुले यात्रुको आरामदायी उडान मात्र नभई सहज भाडादरमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको छ। 

बुद्ध एयरले दैनिक १५० भन्दा बढी उडानमार्फत दशौँ हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ। बुद्ध एयरले पोखराबाट नेपालगन्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ।

बुद्ध एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .