चीनमै बनेको यात्रु बोक्ने विमान निर्माता कोम्याकले आफ्ना विमानको ‘अर्डर’ लिन सुरु गरेको छ।
मंगलबार सिंगापुरमा भएको एयरशोका क्रममा कोम्याकले न्यारोबडी जेटको पहिलो अर्डर लिएको रोयटर्सले जनाएको छ। चीनकै टिबेट एयरलाइन्सले ४० वटा सी९१९ विमान र १० वटा एआरजे२१ क्षेत्रीय विमानहरु किन्ने सम्झौता गरेको छ।
त्यसैगरी चीनकै हेनान सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट ग्रुपले ६ वटा एआरजे२१ विमानको अर्डर दिएको छ।
यसअघि नै उक्त विमानले अन्तर्राष्ट्रिय उडानमा ‘डेब्यु’ गरेको थियो। विमानले चीनबाहिर आइतबार पहिलो उडान भरेको हो। उक्त विमान सिंगापुर एयरशोका क्रममा चिनियाँ भूमिबाहिर पहिलोपटक उडेको एजेन्सीहरुले जनाएका छन्।
चिनियाँ सरकार स्वामित्वको कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)ले उत्पादन गरेको जेट विमानलाई बेइजिङको फराकिलो ‘मेड इन चाइना’ रणनीतिको संकेतका रुपमा हेरिएको छ।
यसले खासगरी विश्व आकाशमा एकछत्र राज गरिरहेका पश्चिमा कम्पनीहरु बोइङ र एयरबससँग आगामी दिनमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको एजेन्सीहरुले जनाएका छन्।
Shares
प्रतिक्रिया