कारोबार


जनकपुरधामलाई नेपालको पहिलो क्यासलेस शहर बनाउने सम्झौता

जनकपुरधामलाई नेपालको पहिलो क्यासलेस शहर बनाउने सम्झौता

नेपालखबर
माघ १६, २०७६ बिहिबार १४:२,

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सीईओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तिय पहुँच पुर्‍याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ। उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ।

कार्यक्रममा विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए। आइएमईको सिइिओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए।उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहेपनि ठूलो सम्भावना रहेको बताए। पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए।

त्यसै गरि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइिओ विकास कुमार नाहाटाले भने, ‘यदि मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ। यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ।'

आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले ब्यक्त गरे।

झन्डै २५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad