अत्यधिक चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुँदा पोखरा र भैरहवा विमानस्थल खाली रहने गरेका छन्। चाडपर्वको समयमा त्रिभुवन विमानस्थल ‘पूर्ण क्षमतामा’ सञ्चालन हुँदा अर्बौं लगानीका दुई विमानस्थलमा उडान हुन सकेको छैन।
त्रिभुवन विमानस्थलमा एकै दिन झण्डै सवा सयसम्म अन्तर्राष्ट्रिय उडान भए। अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानको संख्या बढ्दा जहाज होल्ड गर्नु परेको गुनासो वायुसेवा कम्पनीले गरेका छन्।
त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन भैरहेको छ। बिहानको समयमा सबैभन्दा बढी ट्राफिक हुने गरेको विमानस्थलले जनाएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ट्राफिक बढ्दा आन्तरिक उडान होल्ड हुनुपर्ने अवस्थामा पुगेको बताए।
‘हाम्रा उडान होल्ड गर्दा खर्च बढिरहेको छ,’ उनले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दसैँको समयमा १६ अक्टोबरमा एकै दिन १२० वटा अन्तर्राष्ट्रिय उडान भएको बताए। दैनिक १७ हजार अन्तर्राष्ट्रिय यात्रुको आवागमन भयो।
‘अरु समयको तुलनामा अहिले एकदमै उडान धेरै भएका छन्,’ तिवारीले भने, ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडानको ट्राफिक बढ्दा कुनै समयमा होल्ड हुनुपर्ने अवस्था रहेको छ।’
तिवारीका अनुसार बिहानको समयमा आन्तरिक उडानको माग एकदमै उच्च रहेकाले एकै समयमा ट्राफिक बढी हुने गरेको बताए।
‘यात्रुहरु बिहानको समयमा बढी यात्रा गर्न रुचाउने भएकाले आन्तरिक उडानको माग धेरै छ,’ तिवारी भन्छन्, ‘दिउँसो र राति खाली हुन्छ।’
आन्तरिक उडानमा १६ हजारले यात्रा गरेका छन्। एकै दिन साढे ३ सयभन्दा बढी उडान भएको विमानस्थलले जनाएको छ। बुद्ध एयरले मात्रै एकै दिन १० हजार यात्रुलाई गन्तव्यमा पु¥याएको छ।
आन्तरिक उडानका लागि काठमाडौं आउने अर्को विकल्प नभए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने पोखरा र भैरहवा विकल्पको रुपमा छन्।
पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतमा उडान गर्न खोजे पनि अनुमति पाएन। चिनियाँ जाहाजले केही चार्टर्ड उडान गरे पनि नियमित उडान गर्न सकेका छैनन्। जनघनत्व कम भए पनि पर्यटक बढी जाने भएकाले पोखरामा नियमित उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। तर, अन्तराष्ट्रिय उडान गराउन सकेको छैन।
पोखराको तुलनामा जनघनत्व नै बढी र गौतमबुद्ध जन्मेको लुम्बिनीमा अन्तर्राष्ट्रिय उडान गर्न सकिएको छैन। भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७८ जेठ बाट सञ्चालनमा आएको थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले हप्तामा एउटा मात्रै उडान गरेको विमानस्थलले जनाएको छ। जजिरा एयरलाइन्सले सुरुमै उडान थाले पनि अहिले पूर्णरुपमा बन्द गरेको छ।
एयरलाइन्स कम्पनी भैरहवामा उडान थप गर्नभन्दा काठमाडौँमै स्लट (उडान) थप गर्ने प्रयासमा छन्।
‘मलेसियाबाट भैरहवामा हप्तामा एक पटक नेपाल एयरलाइन्सले न्यारोबडी जहाज उडान गर्दै आएको छ,’ विमानस्थलमा महाप्रबन्धक हंसराज पाण्डे भन्छन्, ‘३० प्रतिशत यात्रु भैरहवामा झर्छन्, बाँकी काठमाडौंमै जान्छन्।’
भैरहवा विमानस्थलमा उडान गर्दा विभिन्न शुल्क कम गरे पनि एयरलाइन्स कम्पनी उडान भर्न तयार भएका छैनन्। भारतले हवाई प्रवेश विन्दु नदिएको र इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालन अनुमति नदिँदा केही समस्या रहेको बताउने गरिएको छ।
‘भारतलाई देखाएर समस्या समाधान हुन सक्दैन। कुनै एयरलाइन्सले उडान गर्छु भन्दा कुनै प्राविधिक समस्या हुँदैन,’ पाण्डे भन्छन्, ‘एउटा समस्या देखाएर तर्किने मात्रै भएको छ। सक्दो प्रयास गरेपनि उडान थप गर्न सकिएको छैन।’
भैरहवा विमानस्थल सञ्चालनको माग गर्दै आन्दोलन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलन सुरु गरेको छ। सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर विमानस्थलको आन्तरिक उडान रोक्नेसम्मका कार्यक्रम गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै व्यवसायीले होटल लगायतका व्यावसायिक क्षेत्रमा अर्बौं लगानी गरेका छन्। तर सरकारले विमानस्थल सञ्चालनको पहल नगर्दा लगानी डुब्न लागेको व्यवसायी बताउँछन्।
पत्रकार सम्मेलन गरेरै सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले सरकारकै अर्बौंको लगानी रहेको विमानस्थल नियमित सञ्चालन गर्न माग गरेको बताए।
निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्थाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन्। लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न आग्रह गरेका छन्। त्यस्तै नेपाल सरकारको स्वामित्वको नेपाल वायुसेवा निगमको जहाजहरुबाट उडान भर्न माग गरेका छन्।
विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएका होटल लिलामीको चरणमा पुगेको व्यवसायीले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भीर रहेको र यसबारे थप छलफल काठमाडौँमा हुने आश्वासन दिएका छन्।
‘विमानस्थल सञ्चालन गर्नुपर्छ भनी स्थानीयले दिएको दबाब दिएको सकारात्मक हो,’ महाप्रबन्धक पाण्डेले भने, ‘तर एयरलाइन्स कम्पनी तयार नहुँदासम्म केही गर्न सकिएन।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले अब केही समयमै त्रिभुवन विमानस्थल ‘स्याचुरेसन’ मा पुगेपछि भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउने जनाएको छ।
‘अबको १ वर्षभित्रै त्रिभुवन विमानस्थलमा उडान थप गर्न सक्ने अवस्था हुँदैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसपछि नेपालमा उडान गर्न चाहनेले भैरहवा वा पोखरा जानै पर्छ।’
Shares
प्रतिक्रिया