कला


गायक रमेश पाठक भन्छन् : मेरो यात्रा संगीतदेखि संगीतसम्म मात्र हो, अन्त कहीँ पुग्नु छैन

गायक रमेश पाठक भन्छन् : मेरो यात्रा संगीतदेखि संगीतसम्म मात्र हो, अन्त कहीँ पुग्नु छैन

राधिका अधिकारी
कात्तिक १६, २०८० बिहिबार ९:१३, काठमाडौँ

गायक रमेश पाठक आफ्नो बाल्यकाल याद गर्दा घरको थाम सम्झन्छन्। त्यही थाममा बाँधिएर गुजारेको समय सम्झन्छन्। तर, उनलाई त्यो समयप्रति पटक्कै पश्चाताप छैन। उनका बुबाआमाको आय–आर्जनको मुख्य स्रोत खेतीपाती थियो। धादिङको तत्कालीन पिडा गाउँमा जन्मिएका रमेश त्यहीँको धुलो माटोमा खेल्दै हुर्किए।

उनी घरको जेठो सन्तान। उनले आफूमुनिका भाइबहिनी हेरे। तर सानो छँदा उनलाई हेर्ने कोही थिएन। खेतीपातीको काममा निस्कँदा उनकी आमा छोरालाई घरको थाममा बाँधेर निस्कन्थिन्। उनलार्ई थाहा छैन, आमाको मन काम गर्दैगर्दा कति पटक अत्तालिएर घर फर्किन्थ्यो। उनलाई त्यसरी बाँधेर हिँड्नु उनकी आमाको बाध्यता थियो। रमेश सम्झन्छन्, ‘त्यसै छोडेर हिँड्दा हेर्ने कोही थिएन, म कता पुगेर लड्थेँ। के हुन्थ्यो थाहा हुन्थेन।’ हुर्कंदै गर्दा रमेश बा–आमाका सारथी भए। खेतीपाती र घरधन्दा दुवैमा सघाए। 

स्कुलमा उनी लजालु स्वभावका थिए। थोरै बोल्थे। उनको यो स्वभाव कलेज जीवनमा पनि उस्तै रह्यो। सानो साथी सर्कल, स–साना सपना अनि सानै उपलब्धिले दिने ठूलो खुसीले जीवनको यो समय मिठो सम्झना बनेर बसेका छन् रमेशको हृदयमा। भन्छन्, ‘हिजोआज न साथीहरुको त्यो निस्वार्थ साथ भेटिन्छ, न पहिलाजस्तो खुसीको विन्दु। जीवन जिम्मेवारीको विशाल पर्खालभित्र बाँधिएको छ। तर, भोलिलाई धेरै चिन्तन गरेर आजमा रमाउने स्वभाव भएकाले जिम्मेवारी पनि अवसर जस्तो लाग्छ।’

स्कुले जीवनमा रमेशले पढ्नुबाहेक अर्को सपना हुन्छ भन्ने नै थाहा पाएनन्। ‘नपढेकै कारण बुबाआमाको जीवन खेतबारीका बुट्यानहरुमै अल्झियो। मैले पढेर उहाँहरुको जीवन सुखी बनाउनु पर्छ भन्ने लाग्थ्यो,’ रमेशले स्कुले दिन सम्झना गरे। 

उनका आफ्नै सपना पो थिएन त, उनलाई लिएर बाबुआमाका सपना कति हुन् कति। उनीहरु चाहन्थे, छोराले राम्रोसँग पढोस्। डाक्टर बनोस्। इन्जिनियर बनोस्। 

रमेशले एसएलसी पास गर्दासम्म गाउँमा कलेज थिएन। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउँदा पनि उनी स्पष्ट थिएनन्। ‘जीवनमा राम्रो केही गर्नु पर्छ, जीवन सार्थक बनाउनु पर्छ भन्ने थियो। तर यही बाटो अपनाउँदा खुसी भेटिन्छ भन्ने थिएन,’ रमेश सुनाउँछन्। 

स्कुलका अतिरिक्त कार्यक्रमहरुमा गीत गाएर रमेशले थुप्रै पुरस्कार जितेका थिए। साथीहरु भनिरहन्थे, ‘तिम्रो स्वर गायक बन्ने स्वर हो।’ रमेश आफैंले भने गायनको सपना देखेका थिएनन्। जब काठमाडौं आए, उनको मन संगीततिर तानियो। उनले डोरेमी संगीत स्टुडियोमा संगीत सिक्न सुरु गरे। काठमाडौं आएपछि एकाएक कसरी संगीतमा झुकाव भयो त? रमेश भन्छन्, ‘साथी संगतले पनि हो। अर्को कुरा गायन कला त ममा सानैबाट थियो। सपना नै बनाएर नहिँडेको मात्रै हो।’ 

संगीत यात्राका सुरुवाती वर्ष सोचेजस्तो भएन। उनका बुबाआमा भन्थें, ‘रहरको क्षेत्र पनि चाखिहालिस् अब भविष्यका बारेमा सोच्ने हो कि!’ तर यतिबेलासम्म रमेशलाई सांगीतिक क्षेत्रको मोहले गाँजिसकेको थियो। संघर्ष गर्न तयार भए। यो क्षेत्र छोड्न तयार भएनन्। 

६० सालताका लोकदोहोरीको दबदबा थियो। आर्थिक हिसाबले पनि दोहोरीमा थोरै लगानी भए पुग्थ्यो। दोहोरी एल्बम निकाल्न दुईवटा गीत भए पुग्थ्यो। आधुनिक गीतको एल्बमका लागि ५÷६ वटा गीत चाहिन्थ्यो। रमेशले पनि करिअरको सुरुवातमा लोकदोहोरी गाए। दोहोरी एल्बम निकाले। रमेशले पहिलो पटक एल्बम निकाल्दा देश संकटमा थियो। गीत÷संगीतका स्रोता त्रासमा थिए। उनको गीत थोरै स्रोतासम्म पुग्यो। ‘केही नहुनुभन्दा थोरै हुनु पनि त केही हो,’ रमेशले चित्त बुझाए। त्यही वर्ष उनले सिन्धु मल्ल र शिला आलेसँग गायनमा सहकार्य गरेर एल्बम निकाले। कमाउन नसके पनि यसपटक उनको लगानी उठ्यो। त्यसपछि उनले गायनको विधा परिवर्तन गरे। रमेश क्लासिक तथा पप संगीत सिक्न थाले। 

त्यसपछि रमेशले आफ्नै कम्पनीको आवश्यकता महसुस गरे। २०६६ सालमा जिनियस म्युजिक कम्पनी खोले। त्यहीँबाट आफ्ना गीतसंगीतको उत्पादन र प्रवद्र्धन गर्न थाले। आफ्नो कम्पनीबाट उनले चलेका गायक÷गायिकाका एल्बम पनि निकाले। रमेश भन्छन्, ‘गीत गाएर मात्रै जीविकोपार्जन सहज थिएन। गीत–संगीत छोडेर बाहिर जान पनि सक्दिनथेँ। त्यसैले संगीतलाई व्यवसायसँग जोडेर संगीतसँगै हिँडेँ। जसले गर्दा संगीत क्षेत्रबाट पलायन हुनु परेन।’ 

२०७३ सालमा रमेशले स्टुडियो खोले। स्टुडियो खोलेपछि संगीतमा उनलाई झन् सहज भयो। खोल्न त उनले एक समय जिनियस म्युजिक स्कुल पनि खोले। केही समय सञ्चालन गरे। तर, संगीत स्कुललाई निरन्तरता दिन सकेनन्। उनको स्टुडियो भने आज पनि अनामनगर पूर्वीगेटमा सञ्चालनमा छ। जिनियस म्युजिक कम्पनी मार्फत गीत–संगीत उत्पादनका साथमा विभिन्न सामाजिक कार्य गर्दै आएका रमेश जीवनमा जे काम गरेपनि संगीतसँग जोडेर मात्रै गर्ने बताउँछन्। 

रमेश लोकगीत गाउँछन्। आधुनिक गीत–संगीत दुवै विधामा प्रिय छन्। पप गायनमा उनको विशेष रुचि छ। नेपाली संगीत उद्योगमा उनलाई भर्सटायल गायकका रुपमा सम्बोधन गर्ने गरिन्छ। उनी संगीत व्यवसायी हुन्। गीत–संगीतका क्षेत्रमा बेलाबेला आउने बाढीको पछि दौडिरहेका स्रष्टा देखेर रमेश कहिलेकाहीँ निराश हुन्छन्। फेरि सोच्छन्, ‘बाढीले नै हो फोहोर बढारेर लैजाने।’ 

भन्छन्, ‘मलाई कहीँ पुग्ने हतारो छैन। मेरो यात्रा भनेको संगीतदेखि संगीतसम्मको मात्रै हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .