मोबाइल वालेट प्रयोगकर्ताहरूले पनि राष्ट्रिय परिचय पत्र नम्बर अद्यावधिक गराउनुपर्ने भएको छ।
शुक्रबार नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशकमा यसअघि नरहेको व्यवस्था थप गर्दै २०८३ असोज भित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित मोबाइल वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने प्रावधान ल्याएको हो।
यस्तै, राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय परिचयपत्रको विवरण यकिन गरेर वालेट खोल्ने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको छ।
वालेट सेवा प्रदायकहरूले आगामी असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए/नभएको स्व:घोषणा लिनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकको हकमा परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप वा अन्य माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने राष्ट्र बैंकले जनाएको छ। तर, यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
त्यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ।
Shares

प्रतिक्रिया