सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
प्रवक्ता बाँस्कोटाले आरोप लागेपछि छानबिन गरिएको र अनुसन्धान रिपोर्टमा कैफियत नदेखिएपछि सफाइ दिइएको बताए। आफूलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा राजन खनाललाई डेपुटी गभर्नर श्रेष्ठले गत साता मात्रै २२९ पेजको स्पष्टीकरण बुझाएका थिए। उनले आफूमाथि लागेको सबै आरोप झूठो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए।
राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरेपछि सरकारले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो। पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिको श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो।

प्रतिक्रिया