कारोबार


गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने

गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने

नारायण अधिकारी
माघ २, २०७६ बिहिबार १०:१३,

गरिमा जातको बर्णशंर धान लगाएका किसानले क्षतिपूर्तिका लागि बीउ बिक्रेताविरुद्ध मुद्दा लड्नुपर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरिमा धानमा बाला नलागेका विषयमा कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको थियो।

धानको डीएनए परीक्षण गर्दा नक्कली पुष्टि भएपछि ठगी गरेको प्रमाणित भएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम बीउ बिक्रीकर्तालाई कारबाही गर्न मन्त्रालयले फाइल विभागमा पठाएको थियो। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रालयबाट प्राप्त फाइलका बारेमा अध्ययन थालिएको छ। उनका अनुसार क्षतिपूर्तिका लागि कृषकले सम्बन्धित जिल्ला अदालतमा जानुपर्ने देखिएको छ।

यसका लागि कसरी अघि बढ्ने भन्ने विषयमा मन्त्रालय, विभाग र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका बीचमा छलफल गरी टुंगाेमा पुग्ने उनले जानकारी दिए। सुवेदीका अनुसार सम्भवत सम्बन्धित जिल्ला हेर्ने कृषि ज्ञान केन्द्रमार्फत समन्वय गरी मुद्दामा जान कृषकलाई सहयोग पुर्‍याइने छ। नेपालमा बीउ आयात गर्ने कम्पनी र बिक्रेतालाई ठगीविरुद्ध अदालती प्रक्रियामार्फत क्षतिपूर्ति दिलाउने र विभागले छुट्टै उनीहरुलाई कारबाहीसमेत गर्ने सुवेदीको भनाइ छ। उनका अनुसार शुरुमा १३ जिल्ला भनिएकामा ११ जिल्लामा सो जातको धान लगाइएको पुष्टि भएको छ।

गत पुस ४ गते बसेको राष्ट्रिय बीउबिजन समितिको बैठकले बीउ आयातकर्तालाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न मन्त्राललाई सिफारिस गरेको थियो। सोहीअनुसार मन्त्रालयले विभागमा पत्राचार गरेको हो । पत्रमा धानको क्षतिको मूल्यांकनसमेत गर्न अनुरोध गरिएको छ। धानमा बाला नलागेपछि सरकारले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको संयोजकत्वमा क्षतिपूर्ति मूल्या‌ंकन समिति गठन गरेको थियो। समितिले सम्बन्धित जिल्लामा अनुगमन गरि प्रतिवेदन बुझाइसकेको छ।

सबै जिल्लामा गरी किसानको उत्पादन लागतका आधारमा रु १७ करोड र परिमाणका आधारमा रु २३ करोड क्षति सिफारिस गरिएको थियो। सोमध्ये चितवन र मकवानपुरमा जग्गाको उत्पादन क्षमताका आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतका आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्यांकन गरिएको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिए।

ढकालका अनुसार क्षतिपूर्तिको विवरणसहितको प्रतिवेदन गत मङ्सिर ६ गते कृषि सचिव युवकध्वज जीसीलाई बुझाइएको थियो। अहिले पुनः विभागलाई अध्ययन गर्न अनुरोध गरिएको हो। विसं २०७६ वैशाख ११ मा सुचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालिबाट गरिमा जातका वर्णशंकर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो।

सो कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति लिएको थियो। कम्पनीले ३४ टन मात्र भित्र्याएको र २३ टन बिक्री गरेको जनाएको छ। धान समयमा नपाकेपछि पछिल्लो बाली लगाउने कृषक बढी प्रभावित भएका ढकालले जानकारी दिए।

सरकारले क्षतिपूर्ति दिलाउन समय लाग्ने भएपछि राहत दिनुपर्ने माग अघि बढेको छ। ढकालले भने, 'कृषि मन्त्री ज्यू कृषकको यो समस्याप्रति निकै सकारात्मक हुनु भएकाले के गर्न सक्छ सरकारले सहयोग गर्छ।' सबै जिल्ला अदालतमा फरक फरक मुद्दा दर्ता गर्दा टुङ्गो लाग्न समय लाग्ने भएकाले सजिलो विधि खोज्नुपर्ने सुझावसमेत विभागलाई दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad