कारोबार


विज्ञापन संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग सातबुँदे सहमति

विज्ञापन संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग सातबुँदे सहमति

नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:५४, काठमाडौँ

नेपाल सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघ (आन) बीच ७ बुँदे सहमति भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकार र विज्ञापन व्यवसायी संघ आनबीच सो सहमति पत्रमा हस्ताक्षर भएको आनले जनाएको छ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेक बहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधी सुदिप थापा, कृष्ण प्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रविन्द्र कुमार रिजाल शशी, विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षरमा उक्त सहमति भएको हो।

नेपाल विज्ञापन संघले गत वैशाख २७ गतेदेखि नेपाल सरकारद्वारा विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि विज्ञापन बोर्ड मार्फत एकद्वार गर्ने प्रक्रियाको विरुद्धमा विभिन्न कार्यक्रम मार्फत विरोध गर्दै आएको थियो।

बुधबार सरकार र नेपाल विज्ञापन संघकाबीच १३ बुँदे मागका सम्वन्धमा सहमति पत्रमा हस्ताक्षर भएपछि संघका तर्फबाट सम्पूर्ण आन्दोलन स्थगित गरिएको संघले जनाएको छ।

आन र सरकारबीच भएको सहमतिको बुँदाहरु यस्ता छन्ः
१. विज्ञापनदाता एवं विज्ञापन एजेन्सीहरुले सरकारी विज्ञापन प्रकाशन प्रशारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुन बमोजिम बोर्डमार्फत हुने व्यवस्था गर्ने एजेन्सीले सम्बन्धित विज्ञापनदातालाई कर बिजक जारी गर्ने उक्त व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकुल संशोधन गर्ने।

२. विज्ञापन बोर्डमा नेपाल विज्ञापन संघको संस्थागत प्रतिनिधित्वको लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सिफारिस गर्ने।

३. विज्ञापन एजेन्सीले सञ्चार माध्यमले निर्धारण गरेको दररेटमा कारोबार गरी सेवा शुल्क प्राप्त गर्नुपर्ने निर्धारित दररेटमा कारोबार गरे नगरेको सम्वन्धमा बोर्डले अनुगमन तथा नियमन गर्ने। साथै बोर्डले विज्ञापन प्रयोजनको लागि सञ्चार माध्यमको स्तरिकरण गर्ने गराउने

४. स्वास्थ्य शिक्षा श्रम रोजगार कृषि वन पर्यटन बीमा जस्ता प्रत्यक्ष सारोकार राख्ने विषयको जनचेतनामूलक सामग्री प्रकाशन गर्न तथा विज्ञापन बजारको विकास र विस्तारका लागि विज्ञापनको राष्ट्रिय नीति मार्फत आवश्यक व्यवस्था मिलाउने र राष्ट्रिय नीतिलाई यथाशिघ्र निस्कर्षमा पु्याई सो बमोजिम ऐन नियमावलीमा समयानुकुल परिवर्तन गर्दै जाने।

५.  विज्ञापन व्यवसायको अनुगमन प्रक्रियामा विज्ञापन व्यावसायिक संघ संस्थाको संलग्नताका लागि आवश्यक पहल गर्ने।

६. बाह्य विज्ञापनका क्षेत्रमा देखिएका ठेक्का कर लगायतका समस्या समाधानको लागि विज्ञापन (नियमन गर्ने) नियमावली तथा मापदण्डमा व्यवस्था गर्नुको साथै स्थानिय तहसँग समन्वय तथा सहजीकरण गर्ने।

७. डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न आवश्यक कानूनी व्यवस्था गर्न मन्त्रालयलाई सिफारिश गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad