राजनीति


प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : राज्यकोषबाट अर्बौँ रुपैयाँ बुझेका ८ हजार लडाकु कहाँ छन्?

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : राज्यकोषबाट अर्बौँ रुपैयाँ बुझेका ८ हजार लडाकु कहाँ छन्?

प्रधानमन्त्रीलाई प्रश्न गर्दै राप्रपा सांसद ज्ञानेन्द्र शाही। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:५७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले लडाकुको नाममा भ्रष्टाचार गरिएको भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका छन्। 

बिहीबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै राज्यकोषबाट अर्बौँ रकम बुझेका ती लडाकुको अवस्थाबारे शाहीले प्रश्न उठाएका हुन्। 

‘८ हजार ४६० जना पूर्वलडाकुका नाममा अर्बौ रुपैयाँ राज्यकोषबाट गएको, तर ती को हुन्, कहाँ छन् नाम के हो, रेकर्ड देखा परेको छैन। २०६४ मा भिडियोमा फेक लडाकु भर्ती गरेको स्वीकार गर्नुभएको छ,’ उनले प्रचण्डलाई सोधे, ‘त्यो लडाकुका नाममा विगत करिब ५ वर्षसम्म अर्बौं रुपैयाँ गएर व्यापक भ्रष्टाचार भयो भन्ने छ, त्यो आरोप तपाईंलाई नै छ। के संसदको विशेष समिति गठन गरेर छानबिन गर्न तपाईं तयार हुनुहुन्छ?’ 

शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पूर्वलडाकुको नाममा भ्रष्टाचार गरियो भन्ने कुरा आरोपका निम्ति आरोप लगाउने कुरामात्रै भएको बताए।

प्रधानमन्त्रीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेर उक्त रकम पटाक्षेप भइसकेको पनि जिरि गरे। 

‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरुले समेत रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो। यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ गठाउने गरिएको देख्दा म आफैँ आश्चर्यमा पर्ने गरेको छु।’

उनले पूर्वलडाकुको नाममा कुनै भ्रष्टाचार नभएको दाबी गर्दै यदि पुष्टि भए आफैं जेल जान तयार रहेको पनि बताए। 

‘पूर्वलडाकुका नाममा भ्रष्टाचार भन्ने कुरा आरोपको निम्त आरोप मात्रै हो भन्ने कुरा बडो जोड दिएर भन्नु चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘किनकी त्यति बेला शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोन्मेन्टको भौतिक पूर्वाधार र योद्धाहरुको रासन पानीको निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट, हिसाबकिताब, त्यहाँ को–को थिए, को–कोले लिए भन्ने सबै रेकर्ड रहेको कुरा म माननीय सदस्यलाई जानकारी गराउन चाहन्छु।’

शाहीले त्यसक्रममा नेपाली पोशाकमा देखिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए। उनले शरणार्थी प्रकरणमा साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाए। 

शाहीले त्यसक्रममा प्रहरी चार महिनादेखि तलब नपाएर उधारोमा काम गरिरहेको बताए। यो समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीले चाल्ने कदमबारे पनि उनले प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .