नेपाल भ्रमर्ण वर्ष २०२० को सद्भावना दूतका रुपमा नेपाल आएकी चिनियाँ अभिनेत्री स्वी छिङ पहिलो दिन बर्दिया घुमेकी छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालसहित पुगेकी अभिनेत्रीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्ज गेटमा भव्य स्वागत गरिएको हो।

नेपालमा विभिन्न भ्रमणस्थलको प्रवर्द्धनात्मक सामग्री निर्माण समेत गरेकी उनले चीनमा नेपालको व्यापक प्रचार गर्ने प्रतिबद्धता जनाएकी छिन्।
अभिनेत्री स्वी छिङलाई बर्दियामा स्थानीय थारु संस्कृति, भेषभूषा, परिकारलगायत नृत्यहरु समेत देखाइएको थियो।
नौ जनाको टोलीसहित आएको उनको टिमले बर्दिया निकुञ्जको प्रवद्र्धन गर्ने भिडियो समेत बनाएको छ।

स्वी छिङसँगै बर्दिया भम्रण गएका नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपालले अभिनेत्री छिङले जंगल सफारी गरेको बताए।
बर्दिया घुमेपछि अभिनेत्री स्वी छिङले ‘नेपाल वाइल्ड लाइफसँग रमाउने पर्यटकको लागि उपयुक्त गन्तव्यस्थल रहेछ’, स्वी छिङको भनाइ् उद्धृत गर्दै सुदर्शन नेपालले नेपालखबरसँग भने।

उनका अनुसार स्वी छिङले बर्दियाको बाँसगढीस्थित ॐ केदारेश्वर धाम, बारबर्दिया नगरपालिकास्थित सत्खलुवा ताललगायत स्थलको पनि अवलोकन गरेकी छिन्।
अभिनेत्री स्वी छिङ गत अक्टोबरमा नेपाल भ्रमणमा आएकी थिइन्। उनले यसपटक नेपालका तीन ठाउँको भ्रमण गर्ने कार्यक्रम छ।

आइतबार बर्दिया घुमेर सोमबार लुम्बिनी आइपुगेकी उनले त्यहाँ विभिन्न मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको नेपालले बताए। लुम्बिनीको विषयमा प्रवर्द्धन गर्ने सामग्री निर्माण गर्नेछिन्।
मंगलबार उनी काठमाडौं फर्किनेछिन्। उनको टोली डिसेम्बर १२ मा चीन फर्किने कार्यक्रम रहेको छ।

५० वर्षीया स्वी छिङ चीनकी प्रख्यात सेलिब्रेटी हुन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उनका फ्यान फलोअर्स नै १ अर्ब ४० करोड छन्।
फ्यानहरुले उनलाई ‘समर क्विन’ र हन्ड्रेड फ्लावर्स अर्थात् सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा दिने गर्छन्।


तस्बिरहरूः सुदर्शन नेपाल/हरिश गाैतम

प्रतिक्रिया