नेपाली बजारमा नयाँ विद्युतीय सवारी (ईभी) ब्रान्डहरु थपिने भएका छन्।
अटोमोबाइल व्यवसायीहरुले बजारमा ईभीको माग बढिरहेको बेला नयाँ ब्रान्ड ल्याउनलागेका हुन्।
चर्चित अटो घरानाहरू लक्ष्मी ग्रुप, एमएडब्ल्यू, एसपीजी अटोमोबाइल, वैद्य अर्गनाइजेसनले प्रिमियमदेखि किफायती मूल्यका ईभी नेपाली बजारमा भित्र्याउने तयारी गरेका छन्।
साउन र भदौमा हुने दुईवटा मुख्य अटो प्रदर्शनीको छेकोमा नयाँ ब्रान्ड भित्र्याउने उनीहरुको तयारी छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ गतेदेखि ३१ गतेसम्म र एचपी प्रिजेन्ट्स नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ।
कुनले कुन ब्रान्ड ल्याउँदै?
लक्ष्मी ग्रुपले चिनियाँ अटोमोबाइल ब्रान्ड जेटोर, बीएआईसी, आर्कफक्सलगायतका चिनियाँ ब्रान्ड नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ।
लक्ष्मी ग्रुपले भित्र्याउन खोजेको जेटोर चीनको प्रमुख अटोमाबाइल समूह चेरी अटोमोबाइलको सन् २०१८ मा स्थापना भएको एसयूभी र क्रसओभर केन्द्रित सब–ब्रान्ड हो। जेटोर मध्यपूर्ण, दक्षिण–पूर्व एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत ६० भन्दा बढी देशमा विस्तार भइरहेको छ।
आधुनिक डिजाइन, धेरै फिचर र प्रतिस्पर्धी मूल्यका कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ।
विश्व बजारमा जेटोर ड्यासिङ स्पोर्टी कम्प्याक्ट एसयूभी, एक्स७० प्लस ७ सिटर पारिवारिक एसयूभी, एक्स९० प्लस ठूलो एसयूभी, जेटोर टी२ अफ रोड एसयूभीमा उपलब्ध छ।
यस्तै लक्ष्मी ग्रुप बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी (बीएआईस) पनि नेपाली बजारमा ल्याउने योजनमा छ। बीएआईस सन् १९५८ मा चीनमा स्थापना भएको यो कम्पनीले यात्रुवाहक कार, एसयभी, ईभी, व्यावसायिक सवारी तथा अटो पार्टपुर्जा उत्पादनका लागि चर्चित छ। बीएआईस समूहअन्गर्त विभिन्न ब्रान्डहरु बीएआईस, बेइजिङ, आर्कफक्स, फोटोन, चाङगे लगायत छन्। बीएआईसले मर्सिडिज बेन्ज ग्रुपसँगको संयुक्त सहकार्यमा चीनमा कार उत्पादन गर्दै आइरहेको छ।
साथै लक्ष्मी ग्रुपले नै बीएआईस अन्तर्गतको आर्कफक्स पनि नेपाली बजारमा उपलब्ध गराउन खोजिरहेको छ। बीएआईसीले प्रिमियम स्मार्ट ईभी ब्रान्ड निर्माण गर्नका लागि आर्कफक्स विकास गरेको हो। आर्कफक्सले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा, स्मार्ट कनेक्टिभिटी र लामो रेन्ज भएको विद्युतीय सवारी उत्पादनमा ध्यान केन्द्रित गरेको छ। यसलाई बीएआईसीले विश्व बजार लक्षित ब्रान्डको रुपमा अघि बढाइरहेको छ। यसका प्रमुख मोडलहरुमा आर्कफक्स अल्फा एस प्रिमियम इलेक्ट्रिक सेडान, आर्कफक्स अल्फा टी÷टी५ मध्यम आकारको इलेक्ट्रिक एसयूभी, आर्कफक्स काओला परिवार तथा बालबालिका लक्षित इलेक्ट्रिक (एमभीपी), आर्कफक्स एस५ नयाँ पुस्ताको स्पोर्टी इलेक्ट्रिक सेडान रहेका छन्।
त्यसैगरी शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइलले क्यूक्यू ब्रान्ड नेपाली बजारमा पुनः भित्र्याउने तयारीमा छ। क्यूक्यू चीनको अटोमोबाइल निर्माता कम्पनी चेरी अटोमोबाइलको सब–ब्रान्ड हो। एसपीजी अटोमोबाइलले क्यूक्यू३ ईभी नेपाली बजारमा ल्याउने भएको हो।
क्यूक्यू३ सन् २००३ मा पहिलो पटक किफायती सिटी कारको रुपमा चीनमा सार्वजनिक गरिएको थियो।
तत्कालीन समयमा यो चीनमा लोकप्रिय कार बनेको थियो। २०१३ मा डिजाइन र फिचरमा सुधार गरेर परिमार्जित रुपमा ल्याइएको थियो। अहिलो तेस्रो पुस्ताको रुपमा २०२६ मा अल विद्युतीय ह्याचब्याकका रुपमा पुनः ल्याइएको छ। नेपालमा पनि विगतमा क्यूक्यू ३ पेट्रोल मोडलमा बिक्री भएको थियो। किफायती मूल्य र सहरी ग्राहकलाई लक्षित गर्दै एसपीजी ग्रुपले क्यूक्यू३ ईभी नेपाली बजारमा उपलब्ध गराउन लागेको हो।
यस्तै, एमएडब्लू वृद्धिले चिनियाँ प्रिमियम ब्रान्ड ‘नेभो’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ। चांगन अटोमोबाइलको न्यू इनर्जी भेहिकल (एनईभी) केन्द्रित सब ब्रान्ड ‘नेभो’ हो।
चांगनले नेभोलाई ईभी, प्लग–इन हाइब्रिड र रेन्ज एक्सटेन्डेट (ईआरईभी) सवारी उत्पादनका लागि विकास गरेको हो। नेभोका उत्पादनहरु अल इलेक्ट्रिक र प्लग–इन हाइब्रिड मोडलमा केन्द्रित छ। लामो रेन्ज, फास्ट चार्जिङ र स्मार्ट कनेक्टिभिटी नेभोका प्रमुख आकर्षण हुन्।
आधुनिक डिजाइन, डिजिटल ककपिट र एडभान्स डाइभर असिस्टेन्ट सिस्टम (एडीएएस) प्रविधिमा पनि कम्पनीले जोड दिइरहेको छ।
चांगन पछिल्लो केही वर्षदेखि युरोप, मध्यपूर्व, दक्षिण–पूर्व एसिया, ल्याटिन अमेरका र अन्य अन्तर्राष्ट्रिय बजारमा ईभी बिक्री बढाइरहेको छ। नेभो ब्रान्ड पनि यही विश्वव्यापी विस्तारको रणनीतिक हिस्सा हो।
नेभो नेपाली बजारमा भित्रिएमा मध्यमदेखि प्रिमिय ईभी सेग्मेन्ट खोज्ने ग्राहकलाई थप विकल्प प्रदान उपलब्ध हुनेछ। कम्पनीले अन्तर्राष्ट्रि बजारमा नेभो ए०७ रेन्ज एक्सटेन्डेड सेडान, नेभो ई०७ एसयूभी र पिकअप मिश्रित डिजाइनको स्मार्ट ईभी र नेभो सी७९८ मध्यम आकारको विद्युतीय एसयूभी भर्सन सार्वजनिक गरिसकेको छ।
चीनको पुरानो तथा प्रतिष्ठित लक्जरी अटोमोबाइल ब्रान्डमध्येको एक होंग्ची पनि नेपाली बजारमा ल्याउने योजनामा व्यवसायीहरु छन्। यसका लागि केही व्यावसायिक घरानाहरुले पहल गरिरहेका छन्।
होंग्ची फर्स्ट अटोमोबाइल वर्क्स (एफएडब्ल्यू ग्रप) अन्र्तगत सञ्चालन छ। होंग्चीको अर्थ चिनियाँ भाषामा रातो झण्डा (रेड फ्ल्याग) हो। यसले सुरुवाती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी र राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गथ्र्यो। पछिल्ला वर्षहरुमा सर्वसाधारणका लागि पनि लक्जरी कार र ईभी उत्पादन विस्तार गरेको छ।
उच्चस्तरीय इन्टेरियर र प्रमियम सामग्री, आधुनिक सुरक्षा तथा एडीएएस प्रविधि, पेट्रोल, हाइब्रिड, ईभी मोडलहरु, आरामदायी र प्रशस्त केबिन, उन्नत सुरक्षा प्रविधि, लक्जरी डिजाइन र आराम यसका प्रमुख विशेषता हुन्।
होंगचीको ई–एचएस९ २०२६ मेमा सिंगापुरमा लन्च गरिएको थियो। त्यसपछि थाइल्यान्ड र हंगकंगमा पनि लन्च भइरहेको छ। यसको मूल्य करिब ९० हजार अमेरिकी डलर छ। १२० किलोवाट आवरको निकेल म्यागनिज कोबाल्ट एनएमसी ब्याट्री प्याकमा उपलब्ध कारले ५४८ किलोमिटर डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।
२०७६ मा नेपालको राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले होंग्चीका कार प्रयोग गरेका थिए। उनले होंग्ची लिमोजिन एचक्यूई गाडी प्रयोग गरेका थिए।
यता चिनियाँ प्रिमियम अटोमोबाइल ब्रान्ड ‘नियो’लाई वैद्य अर्गनाइजेसनले नेपाली बजारमा उपलब्ध गराउने योजना बनाएको छ। टोयोटाका गाडी बिक्री गर्ने वैद्य अर्गनाइजेसनले प्रिमियम ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै नियो ब्रान्ड भित्र्याउने योजना बनाएको हो।
सन् २०१४ मा स्थापना भएको नियोलाई चीनमा टेस्लाको प्रमुख प्रतिद्वन्द्वीको रुपमा लिने गरिन्छ।
नियोको प्रमुख विशेषता भनेको ब्याट्री स्वाप गर्ने सुविधा हो। केही मिनेटमै ब्याट्री साट्न सकिने प्रणालीले चार्ज गर्न लाग्ने लामो समय कुर्नुपर्ने झन्झट ग्राहकले व्यहोर्नु पर्दैन। ब्याट्री स्पाप प्रणाली चीनमा तीव्र विस्तार भए पनि पहिलो चरणमा नेपाली बजारमा भने तत्कालै ब्याट्री स्वाप गर्न सकिने कार भने नआउने जानकारहरु बताउँछन्। कम्पनीको उत्पादनमा अत्याधुनिक डिजिटल ककपिट, एडीएएस, स्मार्ट कनेक्टिभिटीमा जोड दिइएको छ। पछिल्लो समय नियो चीनसँगै युरोपका केही देशहरुमा पनि बिक्री विस्तार भइरहेको छ।
प्रिमियम ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै वैद्य अर्गनाइजेसनले नियो नेपालमा ल्याउन खोजेको हो। प्रिमियम ब्रान्ड भएकाले यसको मूल्य चिनियाँ प्रतिस्पर्धीभन्दा महँगो छ।
Shares

प्रतिक्रिया