ad ad

कारोबार


बजेट ल्याउँदै ६ महानगर : कमजोर आन्तरिक स्रोत, प्रदेश र संघमै निर्भर

यस्तो छ ५ आर्थिक वर्षको बजेट र आन्तरिक स्रोतको अवस्था
बजेट ल्याउँदै ६ महानगर : कमजोर आन्तरिक स्रोत, प्रदेश र संघमै निर्भर

वसन्त अर्याल
असार १०, २०७९ शुक्रबार ७:५६, काठमाडौँ

असार १० गते सबै स्थानीय तहले बजेट ल्याउने दिन पारेर आज देशभरिका ६ वटा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै छन्। महानगरले संघीय सरकार, प्रदेश सरकारबाट आएको अनुदानसँगै आन्तरिक आय समेटेर बजेट पेश गर्न लागेका हुन्। 

महानगरको बजेटको स्रोत संघीय सरकारकै अनुदानमा भर पर्नुपरेको छ। काठमाडौं महानगरपालिकाको आफ्नो स्रोत बढी रहँदा विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कम छ। 

महानगरले आन्तरिक आयतर्फ सबैभन्दा धेरै सम्पत्ति कर, घरबहाल कर, मालपोत कर, सवारीसाधन कर, विज्ञापन कर, व्यवसाय रजिष्ट्रेशन दस्तुर मुख्य आम्दानीको स्रोत रहेको छ। 

अन्य राजस्वमा सरकारी सम्पत्तिबाट बहाल, बिक्री तथा निकासी शुल्क, बोलपत्र फारम बिक्री, नक्सा फारम बिक्री, सफाइ महशुल, पर्यटन सेवा शुल्क, नक्सा पास/नामसारी दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित सहायक आम्दानीका स्रोतको रुपमा छन्। 

स्रोत निर्भरता प्रदेश र संघतिरै 
पछिल्लो ५ वर्षमा महानगरले आफ्नो आन्तरिक स्रोत बढाउँदै लगे पनि बजेटको लागि संघ र प्रदेश सरकारमै निर्भर हुनुपरेको छ। संघले विभिन्न शीर्षकमा अनुदान दिँदै आएको छ। त्यसबाहेक राजस्व बाँडफाँटबाट ठूलो स्रोत जुटाउँदै आएका छन्। 

अर्थविद् डिल्लीराज खनाल महानगरले आन्तरिक स्रोत बढाउन सम्पत्तिसम्बन्धी कर बढाउनुपर्ने बताउँछन्। 

‘केन्द्रबाट आइहाल्छ भनेर तत्परता नदेखाउँदा पनि आफ्नै स्रोत बढाउन सकेका छैनन्’, खनालले भने, ‘केही महानगरमा जनशक्ति नै नहुँदा पनि समस्या देखेको छु। बलियो महानगर हुन आन्तरिक स्रोतलाई बढाउनैपर्छ।’

उनले विदेशका महानगरहरूको मुख्य स्रोत सम्पत्ति करबाट उठ्ने गरेको बताए। 

स्थानीय तहमा असार १० गते उपप्रमुख ‘पावरफूल’ हुने

काठमाडौं महानगर
२०७४/०७५ मा काठमाडौं महानगरले १२ अर्ब ८७ करोडको बजेट ल्याउँदा ६ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख गरेको थियो। तर ५ अर्ब ४८ करोड रुपैयाँ मात्रै आम्दानी थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा कुल बजेट १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याउँदा आफ्नै स्रोत ४ अर्ब ९० करोड अर्थात् ४० प्रतिशत हुने उल्लेख गरेको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरले कुल १५ अर्बको बजेट ल्याउँदा आफ्नै स्रोतको रुपमा ७ अर्ब ५६ करोड रुपैयाँ आम्दानी हुने उल्लेख गरेको थियो।  

आर्थिक वर्ष ०७७/७८ मा १६ अर्ब ४२ करोडको बजेट ल्याएको थियो। ६ अर्ब ७२ करोड आन्तरिक आम्दानीमा पूर्ति हुने उल्लेख गरेको थियो। 

चालू आर्थिक वर्षको लागि महानगरपालिकाले १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा ११ अर्ब ३३ करोड आन्तरिक स्रोतबाट व्यहोरिने उल्लेख रहेको छ। 

ललितपुर महानगर 
महानगरले पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको थियो।

उक्त वर्ष २ अर्ब १ करोड रुपैयाँ मात्रै आम्दानी गर्नसकेको थियो। जसमा ०७४/०७५ मा यथार्थ आन्तरिक आय १ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा ललितपुर महानगरपालिकाले ४ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त वर्ष महानगरले ३ अर्ब ५१ करोड रुपैयाँ मात्रै यथार्थ आम्दानी गर्न सक्यो। जम्मा आन्तरिक आय १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ३१ करोड रुपैयाँको बजेट आन्तरिक स्रोत २ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक स्रोतबाट परिचालन हुने अनुमान गरिएको छ। 

२०७७/७८ मा ४ अर्ब ७९ करोडको बजेट विनियोजन गरेको थियो। जसमा महानगरले १ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक आयबाट हुने उल्लेख गर्यो। 

चालू आर्थिक वर्षमा महानगरले ५ अर्ब ४४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। जसमा घटाएर १ अर्ब १२ करोड रुपैयाँमा झारेको छ। 

पोखरा महानगर
आर्थिक वर्ष २०७४/०७५ मा पोखरा महानगरपालिकाले ४ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ३८ करोड आन्तरिक स्रोतबाट व्यवस्थापन हुने उल्लेख गरेको थियो। कुल आम्दानी ३ अर्ब ५४ करोड हुँदा आन्तरिक राजस्व ४९ करोड रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब १७ करोडको कुल राजस्व संकलन गर्ने अनुमान गरेकोमा आन्तरिकबाट २ अर्ब २६ करोड हुने अनुमान गरिएको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा कुल ७ अर्बको बजेट ल्याउँदा २ अर्ब ७४ करोड रुपैयाँ मात्रै आन्तरिक स्रोत रहेको छ। बाँकी संघीय सरकार र प्रदेश सरकारको स्रोत देखाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा कुल ५ अर्ब ३४ करोडको बजेट विनियोजन गर्दा आन्तरिक आय २ अर्ब १८ करोड हुने अनुमान गरेको थियो। 

पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षको लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट ल्याएको थियो। जसमा आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ आम्दानी हुने उल्लेख गरेको छ। 

भरतपुर महानगर
भरतपुर महानगरपालिका आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ७६ करोड बजेट ल्याएकोमा आन्तरिक स्रोत ८५ करोड रुपैयाँ मात्रै रहने उल्लेख गरेको छ। महानगरले सम्पत्ति कर, मालपोत, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, पार्किङ र सिफारिस शुल्क मुख्य स्रोत रहेका छन्। 

आव २०७६/०७७ को कुल व्यय ३ अर्ब ३७ करोड विनियोजन गरिएको ८० करोड मात्रै आन्तरिक आम्दानी हुने उल्लेख गरेको थियो। 
आव २०७७/०७८ को लागि ४ अर्ब १५ करोडको बजेट ल्याउँदा आन्तरिक आय ९० करोड हुने अनुमान गरेको थियो। 

चालू आर्थिक वर्षको ४ अर्ब ८१ करोडको बजेट विनियोजन गर्दा आन्तरिक आम्दानी बढाएको छ। चालू आर्थिक वर्षमा १ अर्ब २० करोड रहेको छ। 

वीरगन्ज महानगर
आर्थिक वर्ष २०७४/०७५ को लागि कुल ४ अर्ब ३० करोड बजेट विनियोजन गरेकोमा २४ करोड आन्तरिक आय हुने अनुमान गरिएको थियो। तर २० करोड मात्रै यथार्थ आय भएको थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २० करोड अनुमान गरिएकोमा ५५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको थियो। ४३ करोड रुपैयाँ मात्रै यथार्थ आन्तरिक आम्दानी भएको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त वर्ष घरजग्गा रजिष्ट्रेसनसहित ५५ करोड रुपैयाँ नै आन्तरिक स्रोत अनुमान गरियो। 

आर्थिक वर्ष ०७७/०७८ मा ३ अर्ब ८६ करोड रुपैयाँको बजेट ल्याएका थिए । उक्त वर्ष आन्तरिक आय ५९ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो। 

वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको लागि ३ अर्ब ५५ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा आन्तरिक आय ८६ करोड रुपैयाँ हुने अनुमान गरेको छ। 

विराटनगर महानगर
विराटनगर महानगरपालिकाले २०७५/०७६ मा ४ अर्ब ७४ करोडको बजेट ल्याएको थियो। आन्तरिक आय ३३ करोड रहेको छ। 

२०७६/०७७ मा ५ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमा आन्तरिक स्रोतबाट ५९ करोड रुपैयाँ व्यहोरिने उल्लेख रहेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ७ करोड रुपैयाँको बजेट ल्याएको थियो। जसमा आन्तरिक स्रोत १ अर्ब ३१ करोड रुपैयाँ व्यहोरिने उल्लेख रहेको थियो। 

चालू आर्थिक वर्षको लागि ४ अर्ब १० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। विराटनगर महानगरको आन्तरिक आय ८३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .