ad ad

कारोबार


महानगरको नीति तथा कार्यक्रम : ‘गोरु पछाडि गाडा अगाडि’

एक कदम अगाडि देखिए बालेन्द्र शाह र धनराज आचार्य
महानगरको नीति तथा कार्यक्रम :  ‘गोरु पछाडि गाडा अगाडि’

रुपक चौलागाईं
असार ९, २०७९ बिहिबार ८:३७, काठमाडौँ

यही असार १० गते शुक्रबारसम्म देशभरका स्थानीय तहले बजेट ल्याइसक्नुपर्नेछ।  बजेटका लागि धमाधम नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको छ। काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

७५३ स्थानीय तहमध्ये देशभरका ६ महानगरपालिकाले कस्तो कार्यक्रम र बजेट ल्याउँछ भन्ने चासो बढेको छ।

नगरसभा/गाउँसभाबाट पहिले नीति तथा कार्यक्रम पारित गरेर त्यही नीति कार्यक्रमका आधारमा स्थानीय तहले बजेट घोषणा गर्नुपर्ने हो। तर, देशका ठूला ६ वटा महानगरपालिकामध्ये चार महानगरले भने नीति तथा कार्यक्रमलाई खासै महत्व दिएको देखिँदैन।

बालेन्द्र र धनराज एक कदम अगाडि

बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं र धनराज आचार्यले नेतृत्व गरेको पोखरा महानगरपालिकाले बजेट बन्नुपूर्व नै त्यसलाई निर्देशित गर्ने नीति कार्यक्रम नगरसभामा पेस गरेर विधिवत् छलफल गराइसकेका छन्।

तर, बाँकी चारवटा महानगरपालिकाको हालतचाहिँ ‘गोरु पछाडि, गाडा अगाडि’ भन्ने आहानजस्तै बन्न पुगेको छ। यी चार महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट असार १० गते एकैचोटि पेस गर्ने बताएका छन्। कतिपयले त नीति तथा कार्यक्रम नै नबनाई बजेटबारे बैठक गरिरहेका छन्।

काठमाडौं महानगरपालिकाले असार ५ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। बुधबार नगरसभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि बुधबार नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन्। दुई वर्षभित्र सहरका तार भूमिगत गर्ने, पोखरा बसपार्क व्यवस्थित गर्नेलगायत योजना सार्वजनिक गरिएका छन्। रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरीलगायत विषय कार्यक्रममा समेटिएका छन्।

चार महानगरको तयारी के छ?


विराटनगर महानगरपालिकाले असार १० गते नै बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। सोही दिन बजेट र कार्यक्रम ल्याउनेगरी तयारीमा रहेको मेयर नागेश कोइरालाका सहयोगीले नेपालखबरलाई जानकारी दिए। ‘मेयरसा’ब अहिले बैठकमा हुनुहुन्छ’, उनले भने, ‘हाम्रो बजेट १० गते आउनेछ, सोही दिन नीति तथा कार्यक्रम पनि आउँछ, अहिले त्यसैको तयारी चलिरहेको छ।’

भरतपुर महानगरपालिकामा पनि बजेटको तयारी धमाधम चलिरहेको छ। उपमेयर चित्रसेन अधिकारीका अनुसार केही दिनअघि विज्ञ र स्थानीयसँग छलफल गरिएको थियो। बुधबार पनि बजेटकै तयारीका बारेमा छलफल भइरहेको छ।

अधिकारी भन्छन्, ‘हामी १० गते बजेट ल्याउने तयारीमा छौँ। सोही दिन नीति तथा कार्यक्रम पनि आउँछ। तयारीका लागि अहिले पनि बैठक चलिरहेको छ।’

उपमेयर अधिकारीका अनुसार संविधानले दिएको समयसीमा आगामी ३० असारसम्म बजेट पारित गराउनेगरी काम अघि बढ्नेछ। १० गते बजेट प्रस्तुत भएपछि ११ र १२ गते बजेटमाथि छलफल हुने उनले बताए।

वीरगन्ज महानगरपालिकाले बजेटबारे छलफल गर्न बुधबार दिउँसो ३ बजे बैठक बोलाएको थियो। बजेटकै सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको र त्यसपछि बल्ल नीति तथा कार्यक्रमबारे छलफल हुने वडा नं १ का अध्यक्ष मनोज राउत कुर्मीेले जानकारी दिए। अहिलेसम्म नीति तथा कार्यक्रम ल्याउनेबारे कुनै छलफल नभएको उनले बताए।

ललितपुर महानगरपालिकाले पनि बजेट र नीति तथा कार्यक्रम एकैसाथ सार्वजनिक गर्नेछ। महानगरपालिकाका सूचना अधिकारी रुद्रप्रसाद पौडेलका अनुसार बजेटबारे थप छलफल भइरहेको छ।

स्थानीय निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेर बजेट ल्याउने तयारी भएको उनले बताए। अहिले पनि महानगरपालिकामा बजेट केन्द्रित छलफल जारी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .