ad ad

राजनीति


गरिबीभन्दा फोहोरको समस्या ठूलो : मन्त्री झाँक्री

गरिबीभन्दा फोहोरको समस्या ठूलो : मन्त्री झाँक्री

नेपालखबर
असार ९, २०७९ बिहिबार १८:३६, काठमाडौँ

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्।

बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दापनि ठूलो रहेको बताएकी हुन्।

उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्।

उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन्।

मन्त्री झाँक्रीले काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन्।

उनले शौचालयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताइन्। फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भएपनि समाधान केन्द्र बनाउनुपर्ने बताइन्। 

उनले भनिन्, ‘शहरमा आइसकेपछि शहरका समस्या झनै विकराल छन्। शहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबीको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो समस्या छ। शहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन्। आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरु बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबैकुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ।’ 

मन्त्री झाँक्रीले थपिन्, ‘काठमाडौंमा बस्ने मान्छेले फोहोर गर्दछौं। बञ्चरे डाँडामा सम्पूर्ण फोहोरका लागि ल्याण्डफिल्ड साइट बनाएका छौँ। फोहोर फालेका छौँ, त्योसँग निस्किने सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ। हामीले ट्वाइलेटहरु ढलमा मिसाएका छौँ। ढल खोलामा मिसाएका छौँ। त्यसको ट्रिटमेण्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ। यो हामी सुल्टो बाटो हिँडेको होइन, तरपनि यो हाम्रो बाध्यता हो। हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौं पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ।’

मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन्। 

इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ। तर अव्यवस्थित शहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ।

ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई वागमती नदीमा मिसाउने योजना रहेको छ। प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ।

यसबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ। यस परियोजना अन्तर्गत घाटहरुको मर्मत सम्भार र पुनर्स्थापना गर्ने कार्ययोजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .