ad ad

कारोबार


‘हिमाल हाम्रा देवता हुन्, कसैलाई जथाभावी गर्न छुट छैन’

‘हिमाल हाम्रा देवता हुन्, कसैलाई जथाभावी गर्न छुट छैन’

बसन्त अर्याल
मंसिर २, २०७६ सोमबार १२:२५,

आमादब्लम हिमालमा कुवेती झण्डा फहराइएको विषयमा पर्यटन विभागले छानबिन गरी कारबाही गर्ने भएको छ। विभागले सरकारको अनुमतिविनै झण्डा फहराइएको पाइएकाले कारबाही गर्ने बताएको हो।

नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेत सहभागी आरोहण दलले ठूलो कुवेती राष्ट्रिय झण्डा शिखरमा फरफराइएको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। आरोही पुर्जाले छ महिनामा विश्वका आठ हजारमाथिका १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।

सामाजिक सञ्जालमा वातावरण विज्ञानका वैज्ञानिक अरनिको पाण्डेले यस्ता कार्यले हिउँ छिटो पग्लिने भन्दै उक्त कार्यको चर्को आलोचना गरेका छन्। यस्ता असभ्य कार्य गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने माग समेत उनले गरेका छन्।

‘हिमाल हाम्रा देवता हुन्, कसैलाई जथाभावी गर्न छुट छैन’
पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले आमादब्लम हिमालमा झण्डा लैजान टोलीले सरकारसँग अनुमति नलिइएको बताए। ‘सरकारको अनुमतिविना कसैले पनि हिमालमा कुनै गतिविधि गर्न पाउँदैन’, उनले भने, ‘हिमाल हाम्रा देवाता हुन्, त्यहाँ कसैलाई जथाभावी गर्न छुट छैन।’

निर्देशक थापाले झण्डाको विषयमा सम्बन्धित टोलीसँग स्पष्टीकरण सोधेको जानकारी दिए।

तर कारबाही गर्न विभागसँग स्पष्ट कानुन छैन
पर्यटन विभाग अनुगमन शाखाकी निर्देशक मिरा आचार्यले यसबारे कारबाही गर्न स्पष्ट कानुन नभएको बताइन्। उनले कारबाही गरे पनि कस्तो किसिमको कारबाही गर्ने विभागले छलफल भइरहेको बताइन्।

उनले सानो झण्डा त सबैले लैजान्छन् तर कत्रो लैजाने भन्ने कुनै मापदण्ड नभएको नेपालखबरलाई जानकारी दिइन्।

‘झण्डा एक्कै छिन राखेको हो, पछि झण्डा सम्बन्धित टोलीले नै ल्याएर आएका छन्। झण्डा विभागमै आइपुगेको छ’, उनले भनिन्, ‘झण्डा उतै छाडेर आएको भए ठूलो मुद्दा हुन सक्थ्यो, लिएर आएकाले त्यसमा के गर्ने विभागले छलफल गरिरहेको छ।’

‘देशको झण्डा हो, हामीले कत्रो साइजमा लान दिने वा नदिने भन्ने विषयमा छानबिनसँगै हामीले ज्ञान पनि लिइरहेका छौँ’, उनले भनिन्।

फेसबुकबाट पुर्जाको स्पष्टीकरण
यता आरोही पुर्जाले भने सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिएका छन्।

‘हो, मैले कुवेतका हाम्रा साथीहरुलाई उनीहरुको राष्ट्रिय झण्डा आमादब्लम शिखरमा पु‍¥याउन सहयोग गरेको हुँ, ता कि चाँडै आउन लागेका उनीहरुको राष्ट्रिय दिवस मनाउन सहयोग पुगोस्!’, पुर्जाले भनेका छन्।

उनले भनेका छन्, ‘यस्तो लाग्छ, मानिसहरुले आजकाल धेरै अनुसन्धान गर्दैनन् र थोरै ज्ञानका आधारमा आफ्नो धारणा राख्छन्। जस्तो कि एउटा भनाइ छः अल्पज्ञान खतरनाक हुन्छ।’

उनले झण्डाहरु शिखरमा फहराएर काठमाडौं फिर्ता ल्याइसकेको र हिमालमा झण्डाको कुनै चिह्न नछोडेको बताएका छन्। यस आरोहणमा १७ जना नेपाली शेर्पा गाइडहरु थिए भने ४ जना बेस क्याम्प किचेन स्टाफ र २० जना नेपाली भरिया थिए।

पुर्जाले हिमाल आरोहणले नेपालको अर्थतन्त्रलाई मद्दत गरेको र भिजिट नेपाल २०२० लाई पनि सघाउने उनको दाबी छ। उनले भनेका छन्, ‘यो प्रोजेक्टले नेपाल र कुवेतबीचको सम्बन्धलाई मजबुत बनाउँछ।’

एकै सिजनमा डेढ करोड रोयल्टी
छ हजार आठ सय १४ मिटर अग्लो आमादब्लम हिमालको अटम सिजनमा मात्रै १ करोड ५७ लाख रोयल्टी उठेको छ। यो सिजनको नोभेम्बर १५ सम्म १२ सय ९ जना ५३ हिमाल आरोहण गरेकोमा ३० टिमका ३४६ जनाले आमादब्लम हिमाल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .