कारोबार


बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो  मुआब्जा

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ७:५३,

बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ।

राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए। डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४ हजार रोपनी जमीनको मुआब्जा वितरण भइसकेको छ।

‘सर्भेक्षणअनुसार आयोजनाले गोरखातर्फ कूल ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ’, उनले भने, ‘मुआब्जा वितरणको काम शुरु भएदेखि अहिलेसम्म अधिग्रहण गरिएका दुवै जिल्लामा गरी करीब ४४ हजार रोपनी जग्गाकोे मुआब्जा वितरण गरिएको छ।’ मुआब्जा निर्धारण हुन बाँकी रहेकाबाहेक अन्य क्षेत्रको मुआब्जा वितरणको काम लगभग अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए।

‘कतिपय जग्गाधनीको जग्गा रोक्का भएका कारण उहाँहरुको खातामा रकम जम्मा गर्न ढिलाइ हुँदै आएको छ’, उनले भने, ‘कतिपय जग्गाधनीको लालपुर्जा नभएको तर फिल्डबुकमा जग्गा भएकाले कसरी समस्या समाधान गर्ने भन्नेमा छलफल भइरहेको छ।’

अधिग्रहण गरिएकामध्ये गोरखातर्फ आरुघाट र आरखेत बजार क्षेत्र तथा धादिङतर्फ आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न अझै बाँकी छ। आयोजनाले आर्थिक वर्ष २०७३÷७४ देखि डुबान क्षेत्रमा पर्ने जमीन अधिग्रहण गरी मुआब्जा निर्धारणको काम शुरु गरेको थियो।

आयोजनाबाट दुई जिल्लाका गरी २० हजार १४६ पूर्ण विस्थापित हुनेछन् भने २५ हजारलाई असर पुग्न सक्ने आयोजना प्रमुख कार्कीले बताए। यस्तै डुबान प्रभावित क्षेत्रमध्ये मुआब्जा निर्धारण भएका सबै क्षेत्रका घरगोठ, फलफूल र बोटबिरुवाको तथ्यांक संकलनको काम सम्पन्न गरिसकिएको र त्यसको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिएको उनको भनाइ थियो।

‘घरगोठ, बोटबिरुवा, फलफूललगायतको मुआब्जा वितरण गर्दा ह्रास कट्टी गर्ने या नगर्ने भन्नेमा अन्योल छ’, आयोजना प्रमुख कार्कीले भने, ‘हामीले ऊर्जा मन्त्रालयलाई ह्रास कट्टा नगर्ने गरी प्रस्ताव पठाएका छौँ। मन्त्रालयले निर्णय गरेलगत्तै त्यसको पनि मुआब्जा वितरणको काम अघि बढ्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad