राजस्व अनुसन्धान विभागले नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
विभागले कम्पनीविरुद्ध झूठो तथा नक्कली बीजक प्रयोग गरी राजस्व छली गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा १३ करोड १३ लाख ११ हजार ६ सय ७७ रुपैयाँ बिगो दाबीसहित मंगलबार मुद्दा दायर गरेको हो।
उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक मात्र खरिद गरी मूअक र आयकर समेतको राजस्व चुहावटमा संलग्नता रहेको विभागले जनाएको छ। दायर मुद्दामा कम्पनीका सञ्चालनक याङ लिन, शे श्याङजुन, वे देगुई र सुविन श्रेष्ठसमेतलाई तीन वर्ष कैद समेत मागदाबी गरिएको छ।
उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मूअकतर्फ ४ करोड २१ लाख ८ हजार ८ सय २ रुपैयाँ र आयकरतर्फ ७ करोड ७७ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ र भएको आय लुकाई कानुनबमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ १ करोड १४ लाख ३१ हजार ८२ रुपैयाँ राजस्व चुहावट गरेकाले १३ करोड १३ लाख ११ हजार ६ सय ७७ रुपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया