कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणको लागि आरोहीको टोली ताप्लेजुङ पुगेको छ।
विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो कुम्भकर्ण हिमाल आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली कुम्भकर्ण आधार शिविरमा पुगेको हो। टोली आरोहणको तयारीमा जुटिसकेको छ।
कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक ताप्लेजुङ पुगेका हुन्।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ)को यो हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहितको टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ।
परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेकोे हो।
आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले जानकारी दिए। आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिए। फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ।
दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्कलन भएको छ।
विभागका अनुसार कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन्। तथ्याङ्कअनुसार वि.सं. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए। रासस
Shares

प्रतिक्रिया