कारोबार


वित्तीय पहुँच बढ्योः ६० प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता

वित्तीय पहुँच बढ्योः ६० प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता

नेपालखबर
असोज २९, २०७६ बुधबार ७:३९,

नेपालमा वित्तीय पहुँच तीव्र गतिमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिशाखा जनसंख्या करिब तीन हजार तीन सयमा आइपुगेको छ। त्यस्तै निक्षेप खाता संख्या दुई करोड ७८ लाख ६७ हजार अर्थात् ९४.१ प्रतिशत र कर्जा खाता संख्या १४ लाख ४० हजार पुगेको छ। यो ०७६ असार मसान्तसम्मको तथ्यांक हो। आव ०७५ को सोही अवधिमा कर्जा खाता संख्या १४ लाख १ हजार रहेको थियो भने निक्षेप खाता संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो।

बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउँदा करिब १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउने राष्ट्र बैंकले जनाएको छ।

नेपालमा वित्तीय पहुँचको स्थितिबारे राष्ट्र बैंकले गरेको अध्ययनले उक्त तथ्यांक सार्वजनिक गरेको हो। यसअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या ६७ लाख नौ हजार पुगेको छ।

अध्ययनमा भनिएको छ, ‘पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ।’ लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिने उक्त अध्ययनमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा नेपालको जनसंख्या दुई करोड ९६ लाख रहेको अनुमान गर्दै ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको निष्कर्ष निकालेको हो। ‘यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ’, राष्ट्र बैंकले अध्ययनमा भनेको छ।

एटीएम, डेबिट र क्रेडिट कार्डवाहक बढे
यसैबीच, नेपालमा एटीएम, डेबिट र क्रेडिट कार्डवाहकको संख्या पनि बढेको पाइएको छ। अध्ययनअनुसार ०७६ असार मसान्तसम्म ३ हजार ३ सय १६ जनाले एटीएम कार्ड, ६७ लाख ८ हजार ५ सय २१ जनाले डेबिट कार्ड र १ लाख २३ हजार १ सय ४६ जनाले क्रेडिट कार्ड बोकेका छन्। यस्तो संख्या अघिल्लो वर्षको सोही अवधिमा क्रमशः एटीएम कार्ड बोक्ने २ हजार ७ सय ९१, डेबिट कार्ड बोक्ने ५५ लाख ४४ हजार २ सय ५३ र क्रेडिट कार्ड बोक्ने संख्या १ लाख ४ हजार ७ सय २१ रहेको थियो।

nrb data 1स्राेत: राष्ट्र बैंक

मोबाइल बैंकिङ प्रयोगकर्ता पनि बढे
त्यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ता पनि बढेको तथ्यांकले देखाएको छ। अध्ययनअनुसार ०७६ असार मसान्तसम्म यो संख्या बढेर ८३ लाख ४७ हजार १ सय ८७ पुगेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ५० लाख ८६ हजार ६९ रहेको थियो। यसबाहेक इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ लाख १७ हजार ३ सय ४४, शाखारहित बैंकिङ केन्द्रको संख्या १ हजार ५ सय ३० र शाखारहित बैंकिङ केन्द्रका प्रयोगकर्ताको संख्या १ लाख ६८ हजार ३ सय ७ पुगेको छ।

nrb data 2स्राेत: राष्ट्र बैंक

१४ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी
राष्ट्र बैंकका अनुसार सात प्रदेशमा वाणिज्य बैंकहरुले ०७६ असोजसम्म ७ सय ३९ वटा स्थानीय तहमा उपस्थिति देखाएका छन्। ०७५ असारसम्म सात प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ३१ स्थानीय तहमा उपस्थिति देखाएका थिए। अब १४ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको उपस्थिति हुन बाँकी रहेको छ।

nrb data 3स्राेत: राष्ट्र बैंक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad