नयाँ सरकार बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता जोगाउनको लागि पनि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएपछि बन्न लागेको नयाँ सत्ता समीकरणबारे छलफल गर्न जसपाका शीर्ष नेताहरुको बैठक बसेको हो।
जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतोले पार्टीमा शीर्ष नेताहरुको भूमिका खेल्ने गरेका छन्।
जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले जुन पार्टीले जसपाले उठाउँदै आएका मुद्दा सम्बोधन गर्छ उसैलाई नै सत्ता समिकरणमा साथ दिने सहमति गरेका छन्।
अहिलेको राजनीतिक घटनाक्रमको बारेमा साझा धारणा बनाएर जानको लागि बैठक बसिरहेको हो।
मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।
जसपाका अध्यक्ष ठाकुर र महतोले सत्ता समीकरणका विषयमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिरहेका छन्।
सत्ता समीकरणका बेला तानातानको अवस्थामा रहेका जसपाका नेताहरु विभाजन हुनसक्ने आशंका समेत भइरहेका बेला शीर्ष नेताको बैठक बसेर पार्टीको नीतिमा एकरुपता कायम गर्न खोजिएको एक नेताले बताए।
जसपामा प्रधानमन्त्री ओलीलाई साथ दिएर जाने कि ओलीविरुद्ध आन्दोलन गरेका दलहरुसँग मिल्ने भन्नेमा दुई धार छ।
‘सत्ता समीकरणका विषयमा पार्टीको आधिकारिक धारणा र नेताहरुबीच एकरुपता कायम गर्न बैठक बसेको हो, आजको बैठकले एउटा विधि बनाउनेछ,’ ती नेताले नेपालखबरसँग भने ।

प्रतिक्रिया