भक्तपुर नगरपालिका–१ चुनदेवीबाट बगेर बेपत्ता भएका एक ट्रक चालकको शव ललितपुरमा फेला परेको छ।
अरनिको राजमार्गको सर्भिस ट्रयाकमा पानी जान बनाइएको ढलमा पानीको बेगले हानेर शुक्रबार ढलभित्र छिरेका ट्रक चालक ५७ वर्षीय नरबहादुर राउतको शव ललितपुरमा भेटिएको प्रहरीले जनाएको छ।
बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। राउत सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्दै आएका प्रहरीले जनाएको छ।
राउतलाई भेलले ढलमा छिराएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए।
स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरिएको हो। शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।रासस

प्रतिक्रिया