प्रवास


नेतृत्व हस्तान्तरणमा बस्नेतको बखेडाले डेनमार्क जनसम्पर्क २ चिरा, राजदूतको सम्मानमा पनि विवाद

नेतृत्व हस्तान्तरणमा बस्नेतको बखेडाले डेनमार्क जनसम्पर्क २ चिरा, राजदूतको सम्मानमा पनि विवाद

राजदूत सुम्निमा तुलाधरको स्वागत, इन्सेटमा बुद्धि सापकोटा र यादव बस्नेत


नेपालखबर
चैत १०, २०८१ आइतबार २१:२१, काठमाडौँ

गत साता डेनमार्क पुगेकी सुम्निमा तुलाधरलाई नेपाली जनसम्पर्क समितिका तर्फबाट एक टोली सम्मान गर्न पुग्यो। राजदूत तुलाधरका लागि नयाँ कार्यक्षेत्रमा पाएको यो स्वागत र सम्मान खुसीकै विषय थियो।

तर, तुलाधरको सम्मानले एउटा समूह खुसी हुन सकेन। त्यसको नेतृत्व यादव बस्नेतले गरेका थिए।

गएको सोमबार (१७ मार्च) राजदूत तुलाधरकै कार्यकक्षमा बुद्धि सापकोटाको नेतृत्वमा जनसम्पर्क समितिको उक्त टोलीले भेटघाट, स्वागत एवं बधाई कार्यक्रम गरेको थियो।

जब ‘सभापति सापकोटाको नेतृत्वमा भेटघाट कार्यक्रम सम्पन्न’ भएको खबर फैलियो, त्यसपछि यादव बस्नेत समूहलाई असह्य भयो।

बस्नेतले समितिको आधिकारिक सभापति आफू भएको दाबी गर्दै सापकोटा नेतृत्वको टोलीको निन्दा र भर्त्सना गर्न थाले।

समितिको पछिल्लो अधिवेशन ५ डिसेम्बर २०२१ मा सम्पन्न भएको, उक्त अधिवेशनमा आफू सभापतिमा निर्वाचित भएको र त्यसपछि कुनै अधिवेशन नभएकोले आफू नै हालसम्म सभापति रहेको उनको दाबी थियो।

तर, बुद्धि सापकोटाले भने उक्त अधिवेशनले नै पारित गरेको दस्तावेजअनुसार दोस्रो कार्यकालका लागि आफू सभापति चुनिएको र वैधानिक समितिकै तर्फबाट बधाई तथा भेटघाट कायर्क्रम गरिएको दाबी गरेका छन्।

उक्त अधिवेशनमा ४ वर्षे कार्यकाल आधा-आधा बाँडेर बस्नेत र सापकोटाबीच २/२ वर्ष नेतृत्व गर्ने सहमति गरिएको थियो।

सापकोटा र यादव दुवैको हस्ताक्षरसहित अधिवेशनकै दिन गरिएको समझदारीपत्रमा पनि ‘२ वर्षमा विशेष अधिवेशन गरी संस्थाको सभापतिमा वरिष्ठ उपाध्यक्ष बुद्धिप्रसाद सापकोटालाई सर्वसम्मत अध्यक्ष बनाउने र बाँकी कार्यसमितिलाई यथावत् राख्ने’ सहमति गरेको देखिन्छ।

अधिवेशनको यस्तो स्पष्ट निर्देशनबाट भागी बस्नेतले विवाद निम्त्याएको सापकोटा बताउँछन्।

‘२ वर्ष पुगेपछि कार्यकाल हस्तान्तरणको कुरा गर्दा म पार्टीको महासमिति बैठकमा गएर आउँछु, अनि हस्तान्तरण गर्छु भन्ने कुरा गर्नुभयो। मैले सहमति दिएँ र उहाँ महासमिति बैठकमा जानुभयो। फर्केर आएपछि फेरि हस्तान्तरण गर्ने विषयमा कुरा भयो। चरणौँ चरणमा वार्ता भए। तर, उहाँले अनेकौँ बहाना बनाउनुभयो,’ सापकोटाले नेपालखबरसँग भने, ‘अन्तिममा आएर केसम्म भन्नुभयो भने तपाईँहरूले हामीलाई कहिल्यै पनि सहयोग गर्नुभएन। त्यही भएर सभापति दिन सकिँदैन भनेर पन्छिनुभयो।’

यादवले दलीय व्यवस्थामा विधिको सर्वोच्चता हुने र सोहीअनुसार प्रवास संगठन चल्ने भएकोले आफू नै सभापति रहेको जिकिर गरेका छन्। सापकोटा भने सोही विधि र सर्वोच्चता मानेरै अधिवेशनले दिएको निर्देशनबाट आफूहरू अगाडि बढेको तर्क गर्छन्।

‘उहाँहरू यसरी प्रस्तुत भएपछि हामीले एउटा भेला गर्‍यौँ। भेलामा अब कसरी अगाडि बढ्ने भन्ने सल्लाह भयो। अनि, नेपाली जनसम्पर्क समिति फ्रान्स र नर्वेका सभापति, पोर्चुगल र बेल्जियमका पूर्वसभापतिहरूसँग कुरा गर्‍यौँ,’ सापकोटा भन्छन्, ‘उहाँहरूले तपाईँ त्यही बन्दसत्रबाट पारित भएको सभापति हो। अरू कार्यसमिति केही पनि नचलाउनुस्, जो तपाईँसँग आउँछन् उहाँहरूलाई राखेर, बृहत् भेला बोलाएर तपाईँले कार्यकाल लिनुस् भन्नुभयो।’

बन्दसत्रमा २/२ वर्ष कार्यकाल चलाउने गरी भएको सहमति सुनाउँदै तत्कालीन पार्टी सभापति वीरेन्द्रसिंह कार्की (भिडिओ)-

सापकोटा अगाडि थप्छन्, ‘अनि, काठमाडौँमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै अहिलेका विभागीय प्रमुख किरण पौडेलसँग पनि कुरा भयो। उहाँहरूले अधिवेशनले दिएको निर्देशन हो, अगाडि बढ भनेपछि संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य नवीनराज पौडेलको हातबाट जिम्मेवारी लिएको हुँ।’

आफूहरूले यादवकै हातबाट कार्यकाल हस्तान्तरण लिन खोजेको भए पनि विधिको सर्वोच्चता खोज्नेहरूबाटै विधि मिच्ने काम भएपछि संस्थापक सभापतिबाट जिम्मेवारी लिएको उनले बताए।

अहिले डेनमार्कका विभिन्न संघसंस्थाबाट नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति भनेर पत्र आउने गरेको र नवनियुक्त राजदूतले पनि आफूहरूलाई समय दिएपछि संस्थागत रूपमा भेट्न गएको सापकोटा बताउँछन्।

‘अहिले राजदूतलाई भेट्न गयौँ। उहाँले समय दिएपछि संस्थागत रूपमा भेट्न गएका हौँ,’ सापकोटा भन्छन्, ‘उहाँलाई लिन पनि हामी नै गएका थियौँ। सभापतिको हैसियतमा म नै गएको थिएँ।’

अधिवेशनबाट स्पष्ट रूपमा पारित भएको विषयलाई कसैले अटेर गर्दैमा मान्य हुनै नसक्ने सापकोटाको भनाइ छ।

‘यादवले संगठनमा एउटा सानो समूहले बखेडा झिकेको भन्नुभएछ। दलीय नियम र प्रावधानविपरीत स्वघोषणा पनि भन्नुभएको रहेछ,’ सापकोटा भन्छन्, ‘बखेडा हामीले झिकेका होइनौँ। उहाँहरूकै सानो समूहले झिकेको हो। हामी त अधिवेशनको बन्दसत्रबाटै पारित भएअनुसार अगाडि बढेका छौँ। नियम र प्रावधान विपरीत त उहाँहरू नै अगाडि बढ्नु भएको छ। स्वनिर्णयमा उहाँहरू चल्नुभएको छ। हामी त वैधानिक तवरले संस्था चलाइरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad