पोल्यान्डमा पहिलो पटक आयोजना हुन लागेको नेपाली महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाली कला संस्कृति, परम्परा र पर्यटनको माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यका साथ शनिबार (जुलाई-११) पोल्यान्डको पोजनान सहरमा नेपाल महोत्सवको आयोजना हुन लागेको हो।
महोत्सवको उद्घाटन जर्मनीको बर्लिनस्थित नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयालले गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन) ले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए।
'पोल्यान्डमा रहेका नेपालीलाई कार्यक्रममा चुले निम्तो छ, हामी सबैलाई स्वागत आतुर छौँ। पोल्यान्डको कानुन र नियमलाई आत्मसात् गर्दै कार्यक्रमलाई भव्य, सभ्य बनाउन सबैलाई अनुरोध छ', संयोजक गाहा मगरले नेपालखबरसँग भने।
कार्यक्रम पोजनानको मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखबाट ११:३० बजे र्याली सुरु हुनेछ। नेपालको झण्डासहित मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी, संगीत, परम्परागत पोसाकमा सहरका मुख्य चौकको परिक्रमा गरिनेछ।
र्याली पश्चात इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा दिउँसो १:३० बजेबाट औपचारिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
हामी नेपाली ग्लोबलका इन्टरनेसनल ट्रस्टी तथा पोल्यान्ड शाखाका कन्सुलर रामकुमार श्रेष्ठले यो महोत्सवले नेपालको कला संस्कृतिलाई पोल्यान्डमा थप प्रवर्द्धन गर्ने बताए।
'हामी यहाँ रोजगारीको सिलसिलामा आएका हौँ। तर, हाम्रो देशको बारेमा पोलिस जनता र अन्तर्राष्ट्रिय समुदायलाई बारेमा प्रचारप्रसार गरेर नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नु पनि हाम्रो कर्तव्य हो,' उनले भने, 'यो कार्यक्रमलाई पोल्यान्डका फरकफरक मुख्य सहरमा वार्षिकरूपमा गर्ने संस्थाको योजना छ।'
हामी नेपाली ग्लोबल पोल्यान्ड शाखा सन् २०१९ देखि यहाँ सक्रिय छ। यो संस्था सन् २०२१ मा पोल्यान्डको कानुनअनुसार यहाँको केआरएसमा दर्ता भएर आफ्नो सामाजिक कार्य गर्दै आएको छ।
Shares

प्रतिक्रिया