श्रम संस्कृति पार्टीले प्रवासमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा युरोप संयोजकको जिम्मेवारी रविचन्द्र भट्टराई (रवि ओम)ले पाएका छन्।
श्रम संस्कृति पार्टीका सह-महासचिव समिर तामाङ तथा प्रवास विभाग प्रमुख तेजबहादुर राईले पत्रमार्फत भट्टराईलाई युरोप महादेश विभागको संयोजक तोकेका हुन्।
जिम्मेवारी पत्रमा युरोप महादेशका विभिन्न देशमा रहेका नेपालीलाई श्रम संस्कृति पार्टीको अभियानसँग जोडी पार्टीको अन्तर्राष्ट्रिय सञ्जाल सुदृढ गर्न भनिएको छ।
लामो समयदेखि युरोपमा बसोबास गर्दै आएका भट्टराई एनआरएनए अभियान तथा पत्रकारितामा सक्रिय छन्। भट्टराई नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्वउपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)को आईसीसी पूर्वसदस्य हुन्।
क्रोएसिया, जर्मनी, बेल्जियम, बेलायत, साइप्रस लगायतका देशमा श्रम संस्कृति पार्टीको समिति गठन भइसकेर सक्रिय रूपमा काम भइरहेको भट्टराईले बताए।
‘फरक भूमिकामा आएको छु। आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै श्रमलाई सम्मान गर्ने हाम्रो पार्टीसँग युरोपका नेपालीलाई जोड्ने पुलको काम गर्नेछु,’ भट्टराईले नेपालखबरसँग भने।
सात महिनाअघि खुलेको श्रम संस्कृति पार्टीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी कुल ७ सिटसहित राष्ट्रिय पार्टी बनेको छ।
Shares

प्रतिक्रिया