डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा तुलाधरको स्वागत तथा बधाई कार्यक्रम गर्ने नेपाली जनसम्पर्क समिति आधिकारिक नभएको दाबी यादव बस्नेतले गरेका छन्।
सोमबार (१७ मार्च) बुद्धि सापकोटा नेतृत्वको टोलीले राजदूत तुलाधरलाई उनकै कार्यकक्षमा भेटी स्वागत तथा बधाई दिएको थियो।
उक्त समाचार नेपालखबरमा बुधबार (१९ मार्च) छापिएको थियो।
समाचार प्रकाशित भएपछि यादवले नेपाली जनसम्पर्क समिति डेनमार्कको आधिकारिक समिति आफू नेतृत्वको समिति रहेको दाबी गरेका हुन्।
यस्तो छ उनको दाबी-
नेपाली जनसम्पर्क समिति, नेपाली कांग्रेसको प्रवास संगठन हो।
एक देशमा एक मात्र नेपाली कांग्रेसको आंगिक संगठन ‘नेपाली जनसम्पर्क समिति’ रहने नेपाली कांग्रेसको विधानमा स्पष्ट व्यवस्था छ।
सोही अनुरुप, नेपाली कांग्रेस केन्द्रले तोकेको केन्द्रीय प्रतिनिधिको रोहबरमा अधिवेशन हुने र सो अधिवेशनबाट निर्वाचित कार्यसमिति र विधान केन्द्रीय निर्वाचन समितिमा दर्ता हुने र सो दर्ता भएको समितिले संगठनका जिम्मेवारी सम्हाल्ने वैधानिक प्रक्रिया रहेको छ।
५ डिसेम्बर २०२१ मा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र तेजेन्द्रबहादुर कार्की केन्द्रीय प्रतिनिधि रहेर सम्पन्न अधिवेशनले यादव बस्नेतको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको र सो भन्दा यता कुनै अधिवेशन नभएकाले यादव बस्नेतको टिम नै नेपाली जनसम्पर्क समिति डेनमार्कको वैधानिक समिति हो।
बुधबार (१९ मार्च) नेपालखबरमा नेपाली जनसम्पर्क समिति, डेनमार्कको सभापतिमा अरू कसैको नाम रहेको र सो सत्य नभएको जानकारी गराउँछु।
संगठनमा एउटा सानो समूहले बखेडा झिकेको र दलीय नियम र प्रावधान विपरीत कार्य गर्दै आफूलाई समितिको रूपमा स्वघोषणा गरेको हो।
राजदूतावासमा गई, नयाँ राजदूतलाई गलत सूचना दिएर, भेटघाटको गलत सूचनामार्फत जनमानसमा भ्रम फैलाउने कार्य गरिएको हो।
समाचार प्रकाशित भएपछि २० मार्चमा म आफैँ गएर सोको जानकारी राजदूतलाई प्रस्ट पारेको थिएँ।
नवनियुक्त राजदूतले आफूलाई थाहा नभएको र आउँदा दिनमा राजदूतावास सचेत रहने जानकारी गराउनु भएको छ।
दलीय व्यवस्थामा विधिको सर्वोच्चता हुने र सोहीअनुसार प्रवास संगठन चल्ने भएकोले समाचारमा उल्लेखित नाम आधिकारिक होइन।
Shares

प्रतिक्रिया