नेपाली जनसम्पर्क समिति डेनमार्कले यहाँका लागि नवनियुक्त राजदूत सुम्निमा तुलाधरको स्वागत तथा बधाई कार्यक्रम गरेको छ।
सोमबार (१७ मार्च) राजदूतकै कार्यकक्षमा आयोजित उक्त कार्यक्रममा समितिले नवनियुक्त राजदूत तुलाधरलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो।
समितिका सभापति बुद्धि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डेनमार्कमा रहेका नेपालीको वस्तुस्थिति, यहाँका समस्या लगायतका विषयमा राजदूतलाई जानकारी गराइएको थियो।
सो क्रममा तुलाधरले प्रजातन्त्रको सुन्दरता भनेकै संगठित भएर अघि बढ्नु रहेकोले सहकार्यमा जोड दिएकी थिइन्। तुलाधरले यहाँस्थित नेपाली संघसंस्थासँग सहकार्य गरी काम गर्ने प्रतिबद्धता जनाएको सभापति सापकोटाले जानकारी दिए।

‘नवनियुक्त राजदूत तुलाधरले नेपालीका समस्यालाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो, ’ सापकोटाले नेपालखबरसँग भने, ‘प्रजातन्त्रको सुन्दरता भनेकै संगठित भएर विचारको प्रतिनिधित्व गर्नु हो। यसर्थ, हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। ’
स्वागत कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य नवीनराज पौडेल, पूर्वसभापित रामचन्द्र पाठक, एनआरएनए डेनमार्कका निवर्तमान सभापति शैलेन्द्र अधिकारीसहितको टोली उपस्थित थियो।
त्यस्तै, जयनेपाल फाउन्डेसन डेनमार्क च्याप्टरकी अध्यक्ष सिता बराल, महासचिव प्रकाशविक्रम शाही, एनआरएनए डेनमार्कका पूर्वमहासचिव महेश खत्रीलगायतका व्यक्तित्व पनि कार्यक्रममा उपस्थित थिए।
यसैगरी जनसम्पर्क समिति डेनमार्कका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महामन्त्री कृष्ण गिरी, कार्यसमिति सदस्य मंगल परियार, धर्म ढकाल, जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष रामबाबु सापकोटाले समुदायको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

जनसम्पर्क समिति डेनमार्कका सल्लाहकारद्वय दिपक बस्नेत र जमुनादेवी कँडेल पनि उपस्थित रहेको कार्यक्रममा राजदूत तुलाधरले सामाजिक कार्यमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन्।
उनले सामाजिक कार्यमा महिलाको सहभागिता अझै र उत्साहीपूर्ण हुनुपर्ने बताएकी थिइन्। यसका लागि नेपाली जनसम्पर्क समिति डेनमार्कलाई पहल गर्न समेत उनले आग्रह गरिन्।
‘राजदूत तुलाधरले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने अरू सोच्न नसकिने पनि प्रस्ट पार्नुभएको थियो, ’ सभापति सापकोटाले भने।
तुलाधर पुसमा डेनमार्कका लागि राजदूत नियुक्त भएकी हुन्।
Shares

प्रतिक्रिया