अपराध


पोखराको ट्रान्सपार्टीमा पक्राउ पर्नेमा विदेशी नागरिकसहित पूर्वमन्त्रीका छोरा पनि

पोखराको ट्रान्सपार्टीमा पक्राउ पर्नेमा विदेशी नागरिकसहित पूर्वमन्त्रीका छोरा पनि

वाशुदेव मिश्र
चैत १८, २०८२ बुधबार १५:४०, पाेखरा

कास्की प्रहरीले १६ गतेको रात बितेर दिन सुरु हुनैलाग्दा पोखरा १८ सेदीको जंगलछेउको घरमा भइरहेको ट्रान्सपार्टीमा हस्तक्षेप गर्‍यो। जंगल नजिक रहेको खालि घरमा चलेको सो पार्टीमा चर्को संगीत बजिरहेको थियो । प्रहरी पुग्दा सहभागीहरु नसाको तालमा उफ्रँदै र नाच्दै थिए । तीमध्ये कोही अंगालोमा अनि केही जोडी एकआपसमा चुम्बन गर्दै थिए । गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले झ्याम्पै भित्र पस्नसक्ने अवस्था नै थिएन।
 
वडा प्रहरी कार्यालय बैदामका प्रमुख नमराज बरालका अनुसार सुरुमा  सादा पोशाकका प्रहरीले पार्टी भएको घरलाई घेरा हाले। भित्र गैरकानूनी काम भइरहेको ‍निक्र्यौल गरेपछि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीसमेतले त्यहाँ छापा हान्यो। प्रहरीले पार्टीमा सहभागीहरुलाई नियन्त्रणमा लिने क्रममा केही युवाहरूले प्रतिवादसमेत गरे।

तीमध्ये एकजना युवा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका हालका पदाधिकारीका छोरा पनि थिए । यसै पनि नसाको रमझम,त्यसमाथि पुख्र्यौली सत्ता र शक्तिको दम्भ, उनले सादा पोशाकका प्रहरीलाई टेरेनन्। प्रतिवादमा उत्रिए। प्रहरी स्रोतका अनुसार प्रहरीको दोस्रो टोली पुगेपछिमात्र ती युवा शान्त भएका थिए।

सो पार्टीमा ब्राजिलदेखि इटली,भारत,जर्मनीसम्मका विदेशी र नेपालको स्रभान्त र मध्यम वर्गका युवाहरु सहभागी भएको प्रहरीको भनाइ छ । ‘त्यो पार्टी नै यस्तो रहेछ कि सहभागिताको लागि मोवाइलमा एप्स डाउनलोड गरेर फर्मजस्तै भर्नुपर्ने रहेछ । प्रवेश शुल्क ६ हजार ५ सय रहेछ र त्यहाँ हामीले पनि नामै नसुनेका लागुऔषध निर्वाध उपलब्ध हुँदो रहेछ,’ वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले भने,‘ ड्रग्स युजरहरु (लागुपदार्थ प्रयोगकर्ता) जाने खालको पार्टी आयोजकले यो व्यक्ति पार्टीमा सुहाउने हो कि हैन भनेपछिमात्र उसले त्यहाँ इन्ट्री पाउँदो रहेछ ।’ 

पोखरामा आयोजित ट्रान्स पार्टीको आयोजक भारतीय नागरिक अनुभव शर्मा र नेपाली नागरिक म्याग्दी स्थायी घर भइ पोखरा बस्ने बमेन्द्र पुन थिए। कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार सो पार्टीमा ‘प्रतिवाद गर्न खोज्नेलाई नियन्त्रणमा लिइयो । त्यहाँ पुगेका सबैले लागुपदार्थ सेवन गरिसकेका थिएनन्, कोही भर्खरै पुगेका पनि रहेछन्। ’ 

रक्सी,गाँजा,चरेस र नामै नसुनिएका लागुऔषधहरु प्रयोग भएको सो पार्टीमा सहभागीमध्ये ८ जनाको साथबाट प्रहरीले सेन्थेटिक लागुपदार्थ एमडीएमए चरेश जस्तो देखिने कालो पदार्थ, कोकिन जस्तो देखिने सेतो धूलो, खात, आइस एम्फेटामाइनजस्तो देखिने पोल्याण्ड, म्याजिक मसरुम,पेपर र झोलमा एलएसडी,लेसर्जिक एसीड डाइटीलेमाइड (एलएसडी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

लागुऔषध प्रयोगकर्ताहरुको लागि एलएसडी महंगो नसा हो । यसको एक डोजको नै ८ देखि १० हजार रुपैयाँ पर्ने ट्रान्स पार्टीमा सहभागीहरु बताउँछन्। ७२ घण्टासम्म चल्ने पार्टीमा खाने–बस्ने,सुत्ने–नाच्ने सबै व्यवस्था गरिएको थियो । पोखराकै एक क्याटरिङबाट खाना मगाइएको थियो। प्रहरीले छापा हान्ने क्रममा पार्टीबाट ३८ जना पक्राउ गरेको प्रहरी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ। 

पक्राउ परेका मध्ये ८ जनालाई लागुऔषध तथा प्रहरीको प्रतिकार गर्ने ४ जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad