राजनीति


विपक्षी दलहरू संवादका लागि खुला, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान यथावत्

विपक्षी दलहरू संवादका लागि खुला, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान यथावत्

नेपालखबर
जेठ २६, २०८३ मंगलबार २०:१६, काठमाडौँ

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राखेका छन्। 

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसदको रोस्टमबाटै ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु राष्ट्रहित विपरीत रहेको बताए।

उक्त अभिव्यक्तिले समस्त नेपालीको शीर निहुरिएको र नेपालको सार्वभौमसत्तामाथि प्रहार भएको ठहर गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले अविलम्व उक्त भनाइ फिर्ता लिनुपर्ने र देशवासीसँग माफी माग्नुपर्ने माग गरेका छन्। साथै, सो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने उनीहरूको अडान छ। 

उनले भने, ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको विषयमा समेत विस्तृत छलफल गरियो। उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत, देशद्रोही प्रकृतिको रहेको तथा यसले सम्पूर्ण नेपालीको शीर निहुराएको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रहार गरेको निष्कर्ष बैठकले निकालेको छ। त्यसैले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ, देशवासीसँग माफी माग्नुपर्छ र संसद्को अभिलेखबाट समेत हटाइनुपर्छ भन्ने विषयमा हाम्रो अडान यथावत छ। यस विषयमा विपक्षी दलहरू दृढ रहेको निष्कर्ष बैठकले निकालेको छ।’

यद्यपि, विपक्षी दलहरू संवादका लागि भने खुला देखिएका छन्। सत्ता पक्षबाट सदन खुलाउने सन्दर्भमा केही अनौपचारिक प्रश्तावहरू आएको उल्लेख गर्दै महरले आगामी दिनमा आयोजना हुने सर्वपक्षीय बैठकमा सहभागी भई आफ्ना धारणा राख्ने बताए।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएमा र सरकार जिम्मेवार बनेमा संसदको गतिरोध हट्ने संकेत विपक्षी दलहरूले दिएका छन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी थिए। श्रम संस्कृति पार्टी बैठकमा उपस्थित भएपनि बैठकबाट निस्किएका निष्कर्षहरूप्रति आफ्नो सहमति रहने र त्यसमा सहभागी हुने जानकारी गराएको महरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad