परम्परागत चिनियाँ पात्रोअनुसार यही फेब्रुअरी १२ तारिख शुक्रबार चीनका नागरिकले मुसा वर्षलाई बिदा गरी गोरु वर्षलाई स्वागत गर्दै छन्। उनीहरू चन्द्रमासको पात्रोलाई आधार बनाएर तिथिअनुसार समय गणना गर्छन्। समग्र व्यवहारमा इस्वी संवत् प्रयोग गरिए पनि चिनियाँ चाडपर्व परम्परागत पात्रोअनुसार मनाइन्छ। चिनियाँ महिना औंसीबाट सुरु हुन्छन्।
चिनियाँ परम्परागत पात्रोअनुसार अहिले चिनियाँ संवत् ४७१९ हो। अब बिहीबार मध्यरातबाट चिनियाँ संवत् ४७२० लाग्दै छ। तर चिनियाँहरू गोरु वर्ष २०२१ भन्ने गर्छन्। चिनियाँ नयाँ वर्षलाई वसन्त चाड पनि भनिन्छ। यो चीनको सबैभन्दा ठूलो चाड हो।
यो चाडबारे चिनियाँ कथा यस्तो छ :
आदिम कालमा समुद्रको पिँधमा एउटा राक्षस बस्थ्यो। उसको नाम निआन थियो। त्यो राक्षस वर्षको एक दिन जमिनमा आउँथ्यो र जनावर तथा मान्छेलाई खान्थ्यो। उसले सबैका घर भत्काएर उधुम मच्चाउँथ्यो। मानिस राक्षसबाट जोगिन पहाडमा लुक्न जान्थे। अजंगको सिङ भएको त्यो राक्षसको ड्रागन र किरिनको मिश्रण थियो।
एकपटक एउटा मगन्ते बास माग्दै गाउँमा आयो। सबै मानिस निआन राक्षस आउने भयले हतारिँदै पहाडतिर भागे। मगन्तेलाई बास दिने कुरै भएन। तर एक जना वृद्ध महिलाले मगन्तेप्रति दया देखाएर बास दिइन्। अनि ती मगन्तेले आफूले निआन राक्षसलाई भगाउने कसम खायो र वृद्धाको घर विभिन्न राता रङका कागजले सजाउन थाल्यो।
मध्यरातमा निआन राक्षस आइपुग्यो। वृद्धाको घरको ढोकामा रातो कागज टाँसेको देखेर टक्क रोकियो। राक्षस रिसाएर ठूलो आवाजमा जमिन नै थर्किने गरी कराएको मात्र के थियो चारैतिर पटका पड्किन थाले। मगन्ते पनि रातै पोसाकमा निस्किएर हाँस्न थाल्यो। राक्षस डरले टाप कस्यो। पहाडमा लुक्न गएका गाउँले भोलिपल्ट फर्किए। आफ्ना घर जस्ताको तस्तै देखेर छक्क परे। पटका पड्काउँदा र रातो रङले घर सजाउँदा राक्षस भाग्ने रहेछ भन्ने कुरा थाहा पाए। त्यही भएर चिनियाँहरू नयाँ वर्षको अघिल्लो साँझ घरमा भेला भएर मध्यरातसम्म खाना खाँदै बस्छन्, पटका पड्काउँछन्। घर रातै रङले सजाउँछन्। त्यही राक्षसका नामबाट चिनियाँहरू वर्षलाई निआन भन्छन्। ढोकामा दुवैतिर रातो शुभ पोस्टर टाँस्छन्। यसो गर्दा राक्षस भाग्छ भन्ने विश्वास अहिले पनि छ।
कतिपयले चीन कम्युनिस्ट मुलुक भएकाले रातो रङलाई मन पराएको पनि भन्छन्, तर रातो रङ चिनियाँ परम्परामा हजारौं वर्षदेखि प्रयोग भइरहेको छ। रातो रङलाई चिनियाँ नागरिक सौभाग्य, प्रगति, उत्साह, शुभ, सुख, सुस्वास्थ्य, खुसी, ऐश्वर्य, समृद्धि आदिको प्रतीक मान्छन्। यसरी बुझ्दा पनि हुन्छ– जहाँ रातो, त्यहाँ चिनियाँ।
चिनियाँ नयाँ वर्ष मनाउने चलन निकै रमाइलो छ। अरूतिर नयाँ वर्ष एक दिन मात्र मनाइन्छ, तर चिनियाँ एक महिनासम्म मनाउँछन्। पछिल्लो समय कार्यव्यस्तता र सरकारी बिदा कम भएका कारण १५ दिन मात्र मनाउन थालेका छन्। सामान्यतः चिनियाँ नयाँ वर्षमा देशभर एक साता सार्वजनिक बिदा दिने चलन छ। त्यही भएर चिनियाँ नयाँ वर्ष मात्र नभनेर नयाँ वर्षको अवधि भन्ने गरिन्छ।
परम्परागत अन्धविश्वास, मान्यता, सामाजिक चलन, संस्कृतिअनुसार चिनियाँ नयाँ वर्षसँग गाँसिएका रोचक विषय यसप्रकार छन् :
चिनियाँ नागरिक नयाँ वर्षको पहिलो दिन कुनै नकारात्मक कुरा गर्दैनन्। अर्थात् मृत्यु, बिरामी, पीडा, भूत, गरिबी, बिग्रिएको, हत्याजस्ता कुरा गर्न पूर्णतः बन्देज गरिन्छ।
नयाँ वर्ष सुरु भएको दिन सेरामिकका भाँडावर्तन अथवा सिसाका गिलास फुटेमा ठूलो अपशकुन मानिन्छ। भाँडा फुट्नु भनेको भाग्य फुट्नु हो भन्ने ठान्छन्, चिनियाँ। नयाँ वर्षका दिन कुनै भाँडा भुइँमा झरे तुरुन्तै टिपेर रातो कागजमा बेरेर शान्ति, शान्ति भन्दै राख्ने चलन छ। फुटिहालेमा त्यस्ता भाँडाकुँडालाई नयाँ वर्षको अवधि सकिएपछि नजिकैको नदी अथवा पोखरीमा फालिदिने गर्छन्।
नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि घर सफा गरिन्छ। तर नयाँ वर्षको अवधिमा घर सफा गर्नु हुँदैन भन्ने मान्यता छ। किनकि घर सफा गरेर फालिएको फोहोरसँगै सुख, शान्ति, समृद्धि र भाग्य तथा ऐश्वर्य पनि फालिन्छ भन्ने जनविश्वास छ। त्यसैले नयाँ वर्षको पाँचौ दिन मात्र घर सफा गरिन्छ। नयाँ वर्ष सुरु भएको दिन त नुहाउन पनि हुन्न भन्ने मान्यता छ।
चिनियाँ नयाँ वर्षको अवधिमा कैंची, छुरीजस्ता धारिला हतियार चलाउ पाइन्न। यही कारण चीनमा नयाँ वर्षको अवधिमा ९९ प्रतिशत कपाल काट्ने पसल बन्द रहन्छन्। नयाँ वर्ष सुरु भएको ३० दिनसम्म कपाल काट्न हुन्न भन्ने चलन छ। नयाँ वर्षको अवधिमा नङ काट्नेदेखि घरमा भएका सबै किसिमका हतियार लुकाइएका हुन्छन्। मासु तथा तरकारी पहिले नै काटेर फ्रिजमा राखिन्छन्।
नयाँ वर्षको सुरु भएको दिन बिहे गरेकी छोरी/ज्वाइँ माइती/ससुराली आउन हुन्न भन्ने मान्यता छ। किनकि उनीहरूसँगै वैवाहिहिक समस्या र उल्झन आइलाग्छ भन्ने विश्वास गरिन्छ। नयाँ वर्षको दोस्रो दिन मात्र माइती÷ससुराली जाने चलन छ। तर अहिले त बिहे गरेर ज्वाइँ ससुरालीमै बस्ने चलन नभएको पनि होइन।
चिनियाँ परम्परामा एउटा विश्वासचाहिँ निकै सकारात्मक छ। नयाँ वर्षमा ऋण अथवा सापटी माग्न हुन्न भनिन्छ। सापटी वा ऋण भएमा नयाँ वर्ष आउनुभन्दा अगाडि नै तिरिसक्ने चलन छ।
नयाँ वर्षका दिन बालबच्चा रुनु अथवा झगडा गर्नुलाई पनि ठूलै अपशकुन मानिन्छ। तसर्थ नयाँ वर्षको पहिलो दिन बालबालिका रोलान् अथवा झगडा गर्लान् भनेर चिनियाँ निकै चिन्तित देखिन्छन्।
नयाँ वर्षको अवधिभर चिनियाँहरू सकेसम्म औषधिसम्बन्धी कुरा गर्दैनन्। किनकि औषधिको प्रसंगसँगै रोगका कुरा पनि आउँछ भनेर। त्यसैगरी नयाँ वर्षका दिन सकेसम्म डाक्टरकहाँ नजाने, शल्यक्रिया नगर्ने र औषधि पनि सकेसम्म नखाने चलन छ। यस्तै नयाँ वर्षको पहिलो दिन घर, कार्यालय वा कोठा पनि परिवर्तन गर्न हुन्न मान्यता छ।
नयाँ वर्षमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरा हो– ‘चिआवो च’। यो एक प्रकारको मःमः हो तर पानीमा डुबाएर पकाइन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास पनि छ।
चिनियाँहरू एकाबिहानै नयाँ वर्षको शुभकामना दिँदैनन्। ओछ्यानमै रहेका व्यक्तिलाई शुभकामना दिँदा त्यो वर्षभरि ओछ्यानमै रहनु भन्ने अर्थ लाग्ने मान्यता राख्छन्, चिनियाँ।
चिनियाँ चलनअनुसार आफन्तलाई भेट गर्न खाली हात जान हुँदैन। केही न केही उपहार हुनुपर्छ। तर झुक्किएर पनि लान नहुने केही कुरा छन्। तीमध्ये घडी पनि एक हो। चिनियाँ चलनमा घडी उपहार दिनु भनेको अन्तिम बिदाइजस्तै हो।
चिनियाँ नयाँ वर्षमा आफूभन्दा सानालाई रातो खाममा हालेर दक्षिणा दिने चलन छ। विशेषगरी केटाकेटीलाई हिजोआज मोबाइलका विभिन्न एप विच्याट, अलिपे आदिमार्फत दिने गरिन्छ। यो चलन चल्नुको कथा पनि निकै रोचक छ।
चिनियाँ नयाँ वर्षको रातमा सुई नाम गरेको राक्षसले सुतिरहेका बालबालिका टाउकामा तीनपटक प्याटप्याट हिर्काउँथ्यो। त्यसपछि बालबालिकालाई ज्वरो आउँथ्यो र उनीहरूको मृत्यु हुन्थ्यो। बाँचिहाले पनि पहिलेको अवस्थामा फर्किन सम्भव हुन्थेन। एक दम्पतीले रातो खाममा केही सिक्का हालेर बच्चा सुतिरहेको सिरानीमुनि राखिदिए। मध्यरातमा सुई नामको राक्षस आएर बच्चाको टाउको छुन खोज्यो। त्यही बेला रातो खाममा राखिएका सिक्का चम्किएर पूरै कोठा उज्यालो भयो र राक्षस भाग्यो। त्यसपछि रातो खाममा बालबालिकालाई दक्षिणा दिने चलन चलेको हो।
चिनियाँ नयाँ वर्षमा रातो पोसाक लगाउने चलन छ। विशेषगरी जुन राशिमा जन्मिएको हो त्यो चक्र आएको वर्षमा रातो भित्री पोसाक अनिवार्य लगाउने चलन छ। उदाहरणका लागि शुक्रबार सुरु हुने गोरु वर्षका अवसरमा गोरु वर्षमा जन्मिएका पुरुष तथा महिलाले भित्री पोसाक (कट्टु, भेस्ट, ब्रा) रातो रङका लगाउँछन्। यसको खास कारण के हो भने निआन राक्षसले विशेषगरी त्यही राशिमा जन्मिएका व्यक्तिलाई सिकार बनाउँछ भनेर सुरक्षित र सौभाग्यका लागि।
उल्लिखित प्रसंगबाट प्रस्ट हुन्छ– रातो रङसँग चिनियाँको नाता हजारौं वर्ष पुरानो हो।

प्रतिक्रिया